प्रेमनाथ पौडेल, सर्लाही । शनिबार धुलिखेल-७ स्थित ११ हजार भोल्टको हाइटेन्सन लाइनको बिजुलीको पोलमा काम गर्ने क्रममा ज्यान गुमाएका सर्लाहीको ईश्वरपुर-१२ घारीबथानका २८ वर्षिय उपेश परियारको परिवारले क्षतिपूर्ति पाउने भएका छन् ।
आइतबार भएको सहमति अनुसार मृतक परियारकी पत्नी रस्मिता परियारलाई उनको पायक पर्ने स्थानमा रोजगारी दिन नेपाल विद्युत प्राधिकरण राजि भएको छ ।
प्राधिकरणका काभ्रे वितरण केन्द्र प्रमुख अमृतबाबु अधिकारीले सो सहमति पत्रमा हस्ताक्षर गरेका छन् । त्यस्तै, विद्युत प्राधिकरणबाट नियमानुसार पाउने क्षतिपूर्ति कम्तिमा ५ लाख रुपैयाँ नघटाइ १० लाखसम्म दिन पहल गर्ने पनि प्रमुख अधिकारीले सहमति जनाएका छन् ।
विद्युत प्राधिकरणबाट पेटी ठेक्का पाई परियारलाई काममा लगाएको धुलिखेलमै दर्ता रहेको सुदिपा निर्माण सेवाले पनि आर्थिक क्षतिपूर्ति दिने सहमति गरेको छ । सो प्रालिका संचालक दिपकप्रसाद धितालले परिवारको संयुक्त बैंक खातामा ७ दिनभित्र १० लाख रुपैयाँ राखिदिने सहमति गरेका छन् ।
सहमतिमा मृतक परियारकी पत्नी रस्मिला लगायत संलग्न रहेका छन् ।
सो सहमति धुलिखेल-८ का वडाध्यक्ष विनोद गौतम र स्थानीय भद्रभलाद्मीको रोहबरमा भएको पत्रकार रोजन तामाङले जनाएका छन् ।
मृतक परियारका पिता केशव दमाईले नातिनातिनाको मुख हेरेर सहमति गर्नुपरेको बताएका छन् ।
परियारका एक छोरा र एक छोरी छन् । उनीहरूको पढाई र लालनपालनका लागि सहमति गर्नुको बिकल्प नभएको उनले बताए ।
उनले आफ्नो छोराको जस्तै अकालमा ज्यान नजाओस् भन्ने कामना गरेका छन् ।
मृतक परिवार र गाउँबासीले घटना बारे प्रतिनिधि सभामा कुरा उठाउने काभ्रेका प्रतिनिधि सभा सदस्य सूर्यमान दोङ लालध्वज लगायतका सांंसदहरु र चिनेका तथा नचिनेका सबैप्रति चासो,चिन्ता र सहयोगको लागि आभार प्रकट गरेका छन् ।
उनीहरूले आगामी दिनमा सहमति कार्यान्वयनमा पनि सबैको सहयोग हुने अपेक्षा गरेका छन् ।