काठमाडौँ, ४ जेठ — प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसंघको हानीनोक्सानी कोष (लस एण्ड ड्यामेज फण्ड) का कार्यकारी निर्देशक इब्राहिम चैख डाइओङले भेट गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सगरमाथा संवादको पहिलो शृङ्खलामा सहभागिता जनाएकामा धन्यवाद दिँदै वातावरण र हिमालको रक्षा हुन नसके मानवीय जीवन असुरक्षित हुने बताएका छन्। उनले ठूला धनी मुलुकहरू पेरिस सम्झौताबाट पछि हट्न खोजेकोप्रति चिन्ता व्यक्त गर्दै सगरमाथा र हिमालहरूको संरक्षण नेपाल र विश्व दुवैका लागि महत्वपूर्ण विषय भएको उल्लेख गरे।
डाइओङले सगरमाथा संवादजस्तो सम्मेलन आयोजना गरेकोमा नेपाललाई बधाई दिँदै कोषबाट भविष्यमा रकम परिचालन गर्दा नेपालजस्ता मुलुकलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।
भेटमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल र वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकाल सहभागी थिए।
कोप–२७ को निर्णयअनुसार जलवायु परिवर्तनको प्रभाव झेलिरहेका विकासोन्मुख मुलुकलाई सहयोग गर्न यो कोष स्थापना गरिएको हो। कोषको बोर्डमा पेरिस सम्झौताका हस्ताक्षरकर्ता मुलुकबाट २६, विकसित मुलुकबाट १२ र विकासोन्मुख मुलुकबाट १४ सदस्य रहनेछन्। अल्पविकसित मुलुकको तर्फबाट नेपालका वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकाल आमन्त्रित सदस्यको रूपमा बोर्डमा रहेका छन्।