सिन्धुली, ४ जेठ । आफैं पढेको सिन्धुलीको दुधौली–२, स्थित श्री कमला माविमा उपन्यासकार केशव घिमिरे पुरस्कृत र सम्मानित भएका छन् ।
गजल प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै ‘खडानन्द–पद्मकुमारी शिक्षा पुरस्कार २०८२’ प्राप्त गरेका घिमिरेले आइतबार आफ्नै गुरुहरुबाट सम्मानित हुने अवसर पाए ।
उनको चर्चित उपन्यास रूपिका ले नवसर्जक साहित्य चौतारी नेपाल, हेटौंडाद्वारा आयोजित प्रादेशिक साहित्य पुरस्कार २०८१ समेत जितिसकेको छ, जसले गर्दा उनका गुरुहरु पनि दङ्ग देखिए ।
कार्यक्रममा सम्मानित घिमिरेले आफ्नो भावुक अनुभव बाँड्दै भने, “बालकक्षादेखि पढेको विद्यालयले यसरी सम्मान गर्दा अत्यन्तै खुसी लागेको छ, ती दिन सम्झँदा आज पनि आँखा रसाउँछ।”
साहित्यकार घिमिरे विगत एक दशकदेखि नेपाली साहित्यमा सक्रिय छन्। २०७९ सालमा प्रकाशित रूपिका उपन्यासले पाठकमाझ विशेष चर्चा पाएको छ। उपन्यासमाथि विभिन्न साहित्यिक संस्थाहरूले परिचर्चा समेत गरिसकेका छन्।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक संजय तिवारीले सपना देख्नेहरुले नै कर्म गर्ने र सफल हुने भन्दै आफ्नो विद्यार्थी घिमिरेले साहित्य क्षेत्रमा उदाउँदै गर्दा आनन्द लागेको बताए ।
सो अवसरमा शिक्षक शिक्षिका, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा अग्रज साहित्यकारहरूको उल्लेखनीय उपस्थिति थियो।
यसै समारोहमा विगत ६ वर्षदेखि कक्षा १० मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई प्रदान गरिँदै आएको ‘खडानन्द–पद्मकुमारी शिक्षा पुरस्कार’ पनि वितरण गरिएको थियो, जुन प्रा. डा. कृष्ण हरि बरालको संरक्षणमा सञ्चालन हुँदै आएको छ।
संरक्षक प्रा. डा. बरालले विद्यार्थीलाई मिहिनेती बनाउन र राम्रो नतिजा हासिल गर्न पुरस्कारले प्रेरित गरोस् भन्ने उदेश्यले पुरस्कार स्थापना भएको बताएका छन् ।