सिटिइभिटीका सहायक निर्देशक पौडेलमाथि कालोमोसो

जनकपुर । भक्तपुरको सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) का सहायक निर्देशक तथा जनकपुरको बिपी कोइराला प्राविधिक शिक्षालयका प्रमुख गोविन्द पौडेलमाथि नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले आइतबार कालोमोसो दलेको छ ।

कालोमोसो दल्ने क्रममा अखिल (क्रान्तिकारी) का सचिवालय सदस्य तथा मधेश प्रदेश संयोजक आयुश घिमिरे र केन्द्रीय सदस्य तथा सिरहा जिल्ला अध्यक्ष रामदेव महरा पक्राउ परेका सो संगठनका नेता डिबी शाहीले पुष्टि गरे ।

पौडेल भ्रष्टाचारमा लिप्त भएकोले कालोमोसो दलेर जनकारबाही गरिएको उनले जनाएका छन् । “जनकारबाहीका क्रममा पक्राउ परेका साथीहरूलाई यथाशीघ्र रिहा गर्न माग गर्दछौं ।” नेता शाहीले भने ।

अखिल (क्रान्तिकारी) मधेश प्रदेश समितिले सार्वजनिक गरेको आरोपपत्रमा पौडेलले परीक्षा नियन्त्रण कार्यालयमा कार्यरत रहँदा फेल भएका विद्यार्थीलाई अवैध रूपमा पास गराई नक्कली प्रमाणपत्र निर्माण गरी आर्थिक लाभ लिएको, प्रमाणपत्र वितरण तथा परीक्षा प्रक्रियामा घूस-चलखेल गरेको, हाल कार्यरत शिक्षालयमा कर्मचारी नियुक्तिमा अनियमितता गरेको, साथै शैक्षिक माफियासँग मिलेर संस्थालाई निजी स्वार्थपूर्तिको माध्यम बनाएको आरोपहरू लगाइएको छ।

संगठनले पौडेललाई तत्काल निलम्बन गरी कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै, “यदि यस विषयमा ढाकछोप वा संरक्षण गरियो भने संगठन अझ कठोर कदम चाल्न बाध्य हुनेछ,” भन्ने कडा चेतावनी समेत दिएको छ।

सिटिइभिटी श्रोतले जनाए अनुसार पौडेल माथि आन्तरिक अनुसन्धान भइरहेको थियो । उनलाई सरुवा गर्न यस अघि पदाधिकारीलाई आग्रह गर्दा अटेर गरिएका कारण घटना घटेको बताइएको छ । 

सिटिइभिटीले घटनाबारे कुनै आधिकारिक पुष्टि र धारणा सार्वजनिक गरेको भने छैन ।

यसअघि पनि अखिल (क्रान्तिकारी) ले परिषद्कै तत्कालीन उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीलाई कार्यकक्षमै गएर कालोमोसो दल्दै विरोध जनाएको थियो।