भक्तपुर । भक्तपुरको भक्तपुर-१ दुधपाटीस्थित लिटल वर्ल्ड इङ्लिस् स्कूलले मतदानमार्फत विद्यार्थी प्रतिनिधि निर्वाचित गरेको छ । विद्यार्थीलाई निर्वाचन प्रक्रियाबारे जानकारी दिनुकासाथै प्रतिनिधि छनौटको अभ्यासमा समेत सामेल गराउँदै शुक्रवार निर्वाचन सम्पन्न भएको हो ।
मतदानमा विद्यालयका कक्षा ४ देखि १० सम्म अध्ययनरत २ सय ६८ मतदाता रहेका थिए । शुक्रवार विद्यालय प्रांगणमा सम्पन्न मतदानमा ९० प्रतिसत मत खसेको थियो ।
प्राप्त मतपरिणाम अनुसार स्कूल हेड बोयमा कक्षा १० का कुशल कार्की निर्वाचित भएका छन् । उनले कक्षा १० कै सुरज दाहाललाई पछि पार्दै सो पदमा बिजयी बनेका बताइएको छ ।
स्कूल हेड गर्ल पदमा कक्षा १० कै हिमानी श्रेष्ठले पनि आफ्नै कक्षाकी निस्मा भट्टराईलाई पराजित गरी निर्वाचित भएकी मतदान अधिकृत रहेका विद्यालय निर्देशक प्रकाश दुवालले जानकारी दिए ।

मतदान अधिकृत दुवालले दिएको जानकारी अनुसार स्कूल सहायक हेड बोयमा कक्षा ९ का आयुष यादवले आफ्नै कक्षाका तनुज श्रेष्ठ र रोहन खत्रीलाई पछि पार्दै विजय हासिल गरेका छन् ।
स्कूल सहायक हेडगर्ल पदमा भने कक्षा ९ की सफलता घिमिरे निर्विरोध निर्वाचित भएकी निर्वाचन अधिकृत दुवालले जानकारी दिए । घिमिरे बिरुद्ध कसैको उम्मेद्वारी नपरेपछि उनी निर्विरोध भएकी हुन् ।
विद्यालयले हाउस क्याप्टेन र सह क्याप्टेनसमेत मतदानमार्फत निर्वाचित गरेको छ । जसअनुसार ब्लु हाउसको (छात्रतर्फ) उत्कर्षजंग ठकुरी र छात्रातर्फ बरिष्मा कार्की क्याप्टेन निर्वाचित भएकी छन् ।
यो हाउसमा क्रमश सक्षम थापामगर छात्रतर्फ र आशिन श्रेष्ठ छात्रातर्फ सह क्याप्टेन निर्वाचित भए ।

ग्रीन हाउसमा आरभ श्रेष्ठ र युश्रींन थापामगर क्याप्टेन तथा विकल्पसिंह ठकुरी र कृष्मा सापकोटा सह क्याप्टेन निर्वाचित भएका छन् ।
रेड हाउसमा प्रमन चौगुठी र निहारिका शर्मा क्याप्टेन त्यसैगरी अनमोल अधिकारी र कोपिला श्रेष्ठ सह क्याप्टेन निर्वाचित भए ।

एल्लो हाउसमा साइमन दाहाल र दीविशा थापा क्याप्टेन तथा राघव भट्टराई र सोनी साह सह-क्याप्टेन निर्वाचित भएका छन् ।

विद्यालयका सामाजिक विषय शिक्षक भुपाल श्रेष्ठले विद्यार्थीहरुलाई निर्वाचन प्रक्रियाको सम्पूर्ण चरणहरूबारे अवगत गराउदै सहभागिता शिक्षण विधिमार्फत निर्वाचनबारे बुझाएका थिए । उम्मेदवारी घोषणादेखि प्रचार प्रसार, मतदान र मतगणनामा विद्यार्थीहरु रमाइलो र चाखलाग्दो किसिमले सिकिरहेका देखिन्थे ।

निर्वाचनको माहौलले उम्मेदवार विद्यार्थीहरु मत मागिरहँदा नेता झैँ देखिएका थिए भने मतदाता विद्यार्थीहरु आफूलाई मनपर्ने साथी आफैले छान्न पाउने अधिकार प्रयोग गर्न पाउँदा निकै उत्सुक र प्रफुल्लित थिए ।
निर्वाचनले विद्यार्थीहरूमा नेतृत्व क्षमता विकास हुने विद्यालयका प्रिन्सिपल उत्तर छावेगुले बिश्वास व्यक्त गरे । निर्वाचित विद्यार्थीमा कर्तव्यबोध र उत्तरदायित्व बढ्ने उनले बताए ।
विद्यालयले निर्वाचन मार्फत विद्यार्थी प्रतिनिधि निर्वाचित गर्दा कलिला मष्तिष्कमा निर्वाचनप्रति विश्वास बढ्ने र भविष्यमा सचेत मतदाता बन्न सहयोग पुग्ने भन्दै अभिभावकसमेत रहेका नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका कोषाध्यक्ष संजीप घिमिरे शुभचिन्तकले विद्यालय गतिविधिप्रति सन्तोष व्यक्त गरे ।

मतपेटिका लगायत मतदान सामाग्री उपलब्ध गराई सहयोग पुर्याएको निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भिमबहादुर बिसीले निर्वाचन लोकतन्त्रको अभिन्न अंग भएकोले सबै विद्यालयले विद्यार्थीलाई निर्वाचन प्रति सकारात्मक बनाउनुपर्ने बताए । यसले लोकतन्त्र मजबुत बनाउन मद्दत मिल्ने उनको भनाई छ ।
