मकवानपुर । थाहा नगरपालिका क्षेत्रभित्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले गठित ऋषेश्वर क्षेत्र विकास समितिको अध्यक्षमा बिनोद लामालाई नियुक्त गरिएको छ।
थाहा नगरपालिका क्षेत्रको ऐतिहासिक, धार्मिक सम्पदा एवं सांस्कृतिक क्षेत्र व्यवस्थापनसम्बन्धी कार्यविधि, २०८१ को परिच्छेद ३, दफा २ (क) अनुसार नगर प्रमुखले समितिको अध्यक्ष तोक्न सक्ने व्यवस्था रहेको छ। यही प्रावधानअनुसार नगर प्रमुख विष्णु बहादुर विष्टको निर्णयमा लामालाई अध्यक्षमा नियुक्त गरिएको हो।
नगर प्रमुख विष्टले ऋषेश्वर क्षेत्रको पूर्वाधार विकास, संरक्षण तथा धार्मिक पर्यटकीय सम्भावनालाई उपयोग गर्दै विकास प्रक्रिया अघि बढाउने उद्देश्यसहित समितिको अध्यक्ष नियुक्त गरिएको जानकारी दिए। उनका अनुसार अब थाहा नगरका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको व्यवस्थित संरक्षणमा थप गति आउने अपेक्षा गरिएको छ।
जनविश्वास अनुसार, प्राचीन समयमा ऋषिहरूले तपस्या गरेको स्थान भएकाले यसलाई ‘ऋषेश्वर’ भन्ने नाम दिइएको हो। यसलाई हिन्दु र बौद्ध दुबैको साझा तिर्थस्थल मानिन्छ । यो क्षेत्रको बिकास र प्रचार प्रसार गर्न सके धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको छ ।
अध्यक्षमा नियुक्त बिनोद लामाले आफ्नो कार्यकालमा ऐतिहासिक, पुरातात्त्विक, धार्मिक पक्षहरूको पहिचान, संरक्षण र बिकास गर्दै पर्यटन प्रवर्द्धनमा केन्द्रित हुने प्रतिक्रिया दिए । “प्रमुखत: धार्मिक एवं पर्यटन प्रवर्द्धन नै हाम्रो लक्ष्य हुनेछ,” लामा भन्छन्, “समितिले स्पष्ट कार्ययोजना बनाएर संस्थागत विकासमा समेत योगदान दिनेछ।”
सामाजिक क्षेत्रमा लामो समयदेखि क्रियाशील लामा थाहा नगरपालिकाभित्रका विभिन्न संघसंस्थाको नेतृत्वमा रहेर कार्य गरिसकेका अनुभवी र कुशल व्यवस्थापकका रूपमा चिनिन्छन्। उनले धार्मिक पर्यटन प्रवर्द्धनका लागि नवप्रवर्तनशील कार्य गर्न तत्पर रहने प्रतिबद्धता जनाएका छन्।
उनी नेकपा (माओवादी केन्द्र) थाहा नगर समितिको अध्यक्ष समेत हुन् ।