काठमाडौं । संघीय राजधानी काठमाडौंको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार अघोषित लोडसेडिङका कारण अँध्यारोमा डुबेको छ। विद्युत आपूर्तिमा लगातार अवरोध हुँदा आज संसदीय शिक्षा उपसमितिको बैठक मोबाइलको उज्यालोमा चलाउनुपरेको पूर्व सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले सामाजिक सञ्जमा तस्बिर पोस्ट्याउदै सार्वजनिक गरेकी छन् ।
बैठकमा सहभागी सांसदहरू र अधिकारीहरूले अँध्यारो कोठामा बसेर राष्ट्रिय शिक्षाका विषयमा छलफल गर्नुपरेको अवस्थामा असन्तुष्टि जनाएका उनले बताइन् ।
“देशको नीतिगत निर्णय लिने केन्द्र नै यदि अन्धकारमा हुन्छ भने अरु कहाँ उज्यालो पर्ला?” सरकारकै समर्थक एक सांसदले गुनासो गरे।
नेपाल शिक्षक महासंघसंगको सम्झौता पछि शिक्षा ऐन ल्याउने चटारो छ । शिक्षा उपसमिति शिक्षा बिधेयकलाई टुंगो लगाउन काम गरिरहेको र अध्यारोले दुख दिइरहेको प्रति सांंसदहरु नै आजित छन् ।
नेपाल विद्युत प्राधिकरणले कुनै पूर्व जानकारी बिना विद्युत आपूर्ति अवरुद्ध गरेकाले यसलाई ‘अघोषित लोडसेडिङ’ को संज्ञा दिइएको छ। यस अवस्थाले प्रशासनिक कामकाजमा अवरोध सिर्जना गर्नुका साथै आम जनतामा पनि निराशा फैलिएको छ।
दैनिक १८ घण्टा भैरहेको लोडसेडिङ हटाएको श्रेय पाएका विद्युत प्रधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै हटाएर उनको ठाउँमा हितेन्द्र देव शाक्यलाई जिम्मेवारी दिएको आम जनातालाई चित्त बुझिरहेको छैन । यस्तोमा लगातार जादै आउदै गरेको बिजुलीले सामाजिक संजालमा सरकार ट्रोल भैरहेको छ ।
सरकारले यस विषयमा चाँडो कदम चालेर विद्युत आपूर्तिको स्थायित्व सुनिश्चित गर्नुपर्ने माग व्यापक रुपमा उठेको छ।