पालिकाले प्रहरीलाई दियो दुर्घटनामा तत्काल उपचार गर्न मिल्ने १० थान किट्स

भक्तपुर । सडक दुर्घटनामा हुने मानवीय क्षति न्यूनिकरण तथा घाइतेहरूको तत्काल उपचारमा सहायता पुर्‍याउने उद्देश्यले मध्यपुर थिमि नगरपालिकाले प्रहरी वृत्त थिमिलाई १० थान प्राथमिक उपचार किट्स बक्स हस्तान्तरण गरेको छ ।

नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले ती किट्सहरु प्रहरी वृत्त थिमिका प्रमुख रहेका डिएसपी नवराज ढुङ्गानालाई हस्तान्तरण गरेका छन् ।

नगर प्रमुख श्रेष्ठले सडक दुर्घटनापछि प्रारम्भिक उपचारले जीवन बचाउन ठूलो भूमिका खेल्ने भएकाले यस्तो सहयोग गरिएको बताए। नगरपालिकाले किट्स खरीद गरी हस्तान्तरण गरेको हो ।

प्रहरी वृत्त थिमिका प्रमुख रहेका डिएसपी ढुङ्गानाले किट्स प्राप्त भएपछि आभार व्यक्त गर्दै यसको सही सदुपयोग गर्ने बताए । दुर्घटनाको समयमा ती सामग्रीहरूले घाइतेको उपचारमा महत्त्वपूर्ण सहयोग पुग्ने उनको भनाइ छ ।

नगरपालिकाले आगामी दिनमा सडक सुरक्षासम्बन्धी जनचेतना कार्यक्रम पनि सञ्चालन गर्ने योजना बनाएको बताइएको छ ।