भक्तपुरको डोलेश्वर भिलेज रिसोर्टले आईपिओ जारी गर्ने

भक्तपुर । भक्तपुरको सूर्यविनायक-८ स्थित डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस प्रालिले आफ्नो स्वामित्वलाई पब्लिक गर्ने तयारी गरेको छ । रिसोर्टलाई प्रालिबाट पब्लिक कम्पनी बनाउन र आईपिओ जारी गर्न तयारी गरिएको हो ।

त्यसका लागि रिसोर्ट र सिटिजन्स क्यापिटल बीच संस्थागत परामर्श सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस प्रालिका तर्फबाट अध्यक्ष रामनाथ मैनाली तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सविर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात सिटिजन्स क्यापिटलले रिसोर्टलाई प्रालिबाट पब्लिक कम्पनीमा रुपान्तरण गर्न तथा सार्वजनिक निष्काशन (आईपीओ) अनुमति लिन सम्पूर्ण तयारी कार्यको परामर्श सेवा दिने बताइएको छ ।

२०७६ साल देखि कारोबार सुरु भएको यो रिसोर्ट सूर्यविनायक-८ डोलेश्वरमा करिब दश रोपनी क्षेत्रफलमा फैलिएको छ । हाल यस रिसोर्टमा १५ वटा कोठाहरु छन् र सो संख्या बृद्धि गरी ३५ वटा कोठा पुर्याउने कार्य र स्वीमिङ पुल पनि निमार्णधीन अवस्थामा रहेको छ ।

सो निर्माण कार्यहरु यस आर्थिक वर्षभित्र नै सम्पन्न गर्ने लक्ष्य रिसोर्टले लिएको छ । यस रिसोर्टमा ३ सय जनासम्मको क्षमता भएको ठूला–साना गरी ३ वटा सभा हलहरुसमेत छन् ।

यहाँबाट प्रसिद्ध धार्मिक स्थल केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिर २ सय मिटरको दुरीमा रहेको छ । प्राकृतिक मनोरमताका पारखी र धार्मिक पर्यटकको यो रिसोर्टमा बिशेष रुचि देखिन्छ ।