डोल्पामा रेडपाण्डा जोगाउन वनमाथिको निर्भरता घटाउने प्रयास

दिर्घ बहादुर शाही, डोल्पा । डोल्पाको मुड्केचुला गाउँपालिकामा हरित जीवनशैली प्रवर्द्धन र जैविक विविधता संरक्षणलाई लक्षित गर्दै प्लास्टिक त्रिपाल र सागसब्जीका बीउ वितरण गरिएको छ।

रेड पाण्डा नेटवर्कको आर्थिक सहयोग र महिला तथा दलित जाति उत्थान मञ्चको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रमअन्तर्गत सामुदायिक वन संरक्षणमा सक्रिय १२ जना अभिभावकलाई प्लास्टिक त्रिपाल वितरण गरिएको छ। त्यस्तै, वडा नम्बर १, २, ३ र ५ मा थप ८ वटा त्रिपाल वितरण गरिएको रेड पाण्डा कार्यक्रमका अधिकृत भरत थापाले जानकारी दिए।

साथै, स्थानीय कृषकहरूलाई सागसब्जी उत्पादनका लागि उपयुक्त बीउसमेत प्रदान गरिएको उनले जानकारी गराए ।

थापाका अनुसार कार्यक्रमको उद्देश्य वनमा निर्भर समुदायलाई वैकल्पिक जीविकोपार्जनका अवसर प्रदान गर्दै जैविक सम्पदाको संरक्षण गर्नु हो।

“समुदायलाई कृषि उत्पादनमा सक्षम बनाएर हामी वनमाथिको निर्भरता घटाउने प्रयासमा छौं,” उनले भने, “यसबाट प्रत्यक्ष रूपमा रेड पाण्डाजस्ता लोपोन्मुख प्रजातिको बासस्थान सुरक्षित गर्न सकिनेछ।”

विश्वमै संकटग्रस्त प्रजातिको रूपमा सूचीबद्ध रेड पाण्डा (Ailurus fulgens) कर्णालीका उच्च पहाडी वनहरूमा पाइने दुर्लभ वन्यजन्तु हो। मुड्केचुला गाउँपालिका र वरपरका सामुदायिक वनहरू यस्ता प्रजातिहरूको महत्वपूर्ण बासस्थान मानिन्छन्।

कार्यक्रममा महिला, दलित तथा विपन्न वर्गलाई प्राथमिकतामा राखिएको थियो। सहभागीहरूले जैविक खेतीप्रतिको रुचि बढेको र वन्यजन्तु संरक्षणप्रतिको चेतना विकास भएको बताएका छन्।

स्थानीय अगुवाहरूका अनुसार जलवायु परिवर्तन र चरनको दबाबका कारण रेड पाण्डाको प्राकृतिक बासस्थान जोखिममा पर्दै आएको छ। यस्तो अवस्थामा संरक्षण र समुदायको दिगो विकासलाई सँगै अघि बढाउने प्रयासले दीर्घकालीन लाभ पुग्ने विश्वास गरिएको छ।