मुड्केचुलामा सरसफाइ सचेतना र्याली

दीर्घ बहादुर शाही, डोल्पा । डोल्पाको मुड्केचुला गाउँपालिका–६ मा मौसम परिवर्तनसँगै फैलिन सक्ने संक्रामक रोगहरूबाट बच्न सरसफाइ र्‍याली आयोजना गरिएको छ।

वडा कार्यालयको आयोजनामा भएको र्‍यालीमा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

र्‍यालीका क्रममा “घरआँगन सफा राखौँ”, “बासी सडेगलेका खानेकुरा बन्द गरौँ”, “साबुन पानीले हात धोऔँ” भन्ने सचेतनामूलक नारा लगाइएको थियो।

सरसफाइ अभ्यासलाई व्यवहारमा उतार्न १ सय ५६ घरधुरीलाई दुई–दुई वटा साबुन निःशुल्क वितरण गरिएको छ। सो अवसरमा स्वास्थ्य शाखा प्रमुख शम्भु मरिक यादवले साबुन पानीले हात धुने सही तरिका सिकाएका थिए।

र्‍यालीमा सहभागीहरु सार्वजनिक स्थल सरसफाइ समेत गरेका थिए । सो र्यालीपछि आयोजित भेलाले सार्वजनिक स्थल तथा बाटोघाटोमा जथाभावी सुर्ती, चाउचाउ, बिस्कुटका खोल, मिठाइ प्याक गरिएका प्लास्टिक तथा सिसाका बोतल नफाल्न अनुरोध गरेको छ।

साथै, फोहोर गर्ने व्यक्ति वा संस्थालाई सचेत गराउने र अटेरी गरे कानुनी कारबाही गर्ने निर्णयसमेत गरिएको छ।

सहभागीहरूका अनुसार, यस किसिमको सचेतनामूलक अभियानले गाउँलाई सफा, स्वस्थ र रोगमुक्त बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।