पहिलोपटक ट्र्याक्टर पुगेपछि फूलमालाले स्वागत, स्थानीयले ट्र्याक्टरसंग खिचाए फोटो

स्थानीय भन्छन् – ट्याक्टर मात्र होइन, हाम्रो सपनाको सवारी

दिर्घ बहादुर शाही, डोल्पा । डोल्पाको मुड्केचुला गाउँपालिका-६ को केन्द्र नर्कुमा पहिलो पटक ट्र्याक्टर पुगेपछि स्थानीयवासीहरू हर्षित भएका छन्।

प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटबाट विनियोजित रकममा निर्माण गरिएको ट्र्याकमार्ग केही महिनामै सञ्चालनमा आएसँगै पहिलो ट्र्याक्टर नर्कु पुगेको हो।

हाल सञ्चालनमा रहेको गाउँपालिकाको केन्द्र नर्कुबाट करिब तीन किलोमिटर दूरीमा पर्ने प्रस्तावित केन्द्र तलि नर्कुसम्म ट्र्याक निर्माण गरिएको थियो। सोही ट्र्याकमार्ग हुँदै ट्र्याक्टर वडाको कार्यालय परिसरमा पुगेपछि स्थानीयवासीहरूले चालक र वडाध्यक्षलाई सम्मानसहित स्वागत गरेका हुन्।

ट्र्याक्टर चालक राजु रावतले स्थानीयको सम्मानले ट्र्याक्टर चलाउदाँको दु:ख बिर्सिएको र  खुशी मिलेको बताए । वडाअध्यक्ष नरेन्द्र बहादुर शाहीले ट्र्याक निर्माण गरि ट्र्याक्टर ल्याउन सफल भएकोमा सन्तोष ब्यक्त गर्दै यसले दैनिकी सहज हुने बिश्वास ब्यक्त गरे ।

विगतमा नेपालगञ्ज, छिन्चु र सल्लिबजारबाट नुन, पिठोलगायतका दैनिक उपभोग्य वस्तुहरू पिठ्युँमा बोकेर ल्याउनुपर्ने बाध्यता रहेको जनाउँदै स्थानीयवासीहरूले अबदेखि सामान सस्तो र सुलभ मूल्यमा प्राप्त हुने अपेक्षा गरेका छन्।

ट्याक्टर वडामा पहिलो पटक पुगेपछि ट्र्याक्टर हेर्न स्थानीयहरु उत्साहपूर्वक उपस्थित भएका देखिन्थे । सो अवसरमा स्थानीयवासीहरूले फूलमालासहित ट्र्याक्टरलाई स्वागत गर्दै सामूहिक फोटो सेसनसमेत गरेका थिए।

फोटो सेसन गर्दै स्थानीय

“विकासको सानो छालले पनि दुर्गम कर्णालीको गाउँमा ठूलो खुसी ल्याउँछ भन्ने उदाहरण बनेको छ, जब मुड्केचुला-६ नर्कुमा पहिलो पटक ट्याक्टर आइपुगेपछि गाउँमा उत्सवजस्तै माहोल देखियो।” वडाध्यक्ष शाहीले भने ।

तीन वर्षे बालकदेखि बृद्धसम्म ट्याक्टर हेर्न भेला भएका थिए। ३ वर्षका एक बालक त दिनभर ट्याक्टर वरिपरि घुमिरनहेका थिए । घरबाट उनी भागेर पार्किङस्थलमा पुगिहाल्थे ।

चालकको सिटमा उनलाई बसाल्दा उनी हर्षित देखिन्थे। उनको अनुहारमा  देखिएको चमक उनको मात्रै निजी होइन, सिंगो गाउँ उनीजस्तै खुसीयालीमा रमाएको देखिन्थ्यो ।

ट्र्याक्टरको स्टेरिङमा रमाउँदै ३ वर्षे बालक
ट्र्याक्टरको स्टेरिङमा रमाउँदै ३ वर्षे बालक

स्थानीय वृद्धहरू भन्छन्, “हाम्रो बाल्यकालमा नेपालगन्ज,छिन्चु झरेर गाडी देख्दा दङ्ग पर्थ्यौं, अहिले आफ्नै गाउँमा ट्याक्टर देख्दा ती दिन सम्झनामा आइरहेका छन्।”

यसअघि नर्कुमा सडक पुग्न मुस्किल थियो। घोडा वा पैदलयात्रा नै मुख्य साधन थिए। तर हालै ट्याक्टरले यातायातको नयाँ सम्भावना देखाएको छ। ट्याक्टरले खेत जोत्न मात्र होइन, अब निर्माण सामग्री ल्याउने, औजार ढुवानी गर्ने र दैनिक आवश्यकताहरू पुर्याउने काम सहज बनाउने विश्वास स्थानीयमा छ।

स्थानीय बासिन्दा भन्छन्, “यो ट्याक्टर मात्र हैन, हाम्रो सपनाको सवारी हो। अब हामीले पनि विकासको बाटो समात्यौं भन्ने अनुभूति भएको छ।”