ललिता साह, काठमाडौ । उपराष्ट्रपति रामसहाय यादवले स्वतन्त्र प्रेस बिना लोकतन्त्र अधुरो हुने भन्दै लोकतन्त्र जोगाउन स्वतन्त्र पत्रकारिता आवश्यक रहेको बताएका छन्।
नेपाल प्रेस युनियनको आयोजनामा भएको लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया सम्मेलन उद्घाटन गर्दै उनले राजनीतिक विचारधारा स्वाभाविक भए पनि त्यसकै आधारमा पत्रकारिता गर्दा लोकतन्त्रमा नकारात्मक असर पर्ने बताए।
उनले परिस्थिति चुनौतीपूर्ण रहेको र पत्रकारको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।
तराई–मधेशको पानी संकट र जलवायु संकटबारे पत्रकारितामार्फत तथ्य उजागर गर्नुपर्ने र यसको समाधानतर्फ जोड दिनुपर्ने उनको भनाइ थियो। नेपाली पत्रकारिता चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै सामुदायमा आधारित पत्रकारिता प्रवर्द्धन गर्नुपर्ने बताए।
गलत सूचना र भ्रम फैलाउनु गम्भीर त्रुटि भएको उल्लेख गर्दै यादवले गलत सूचना रोक्न पत्रकारिताले नैतिक र सामाजिक जिम्मेवारी लिनुपर्ने धारणा राखे।
नेपालको सांस्कृतिक पहिचान जोगाउन मिडियाले भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।
सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रेस काउन्सिलले मिडियाको सम्पूर्ण समस्या समाधान गर्न नसकेपछि मिडिया काउन्सिल स्थापना गर्न आमसञ्चार विधेयक ल्याउन लागेको जानकारी गराए।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सरकारले पूर्ण प्रेस स्वतन्त्रतामा प्रतिबद्ध रहेको बताइन् ।
नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले सम्मेलनबाट सरकारलाई नागरिकका महत्वपूर्ण एजेन्डामा संवेदनशील निष्कर्ष दिने र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने जनाएका छन्।
शनिबारदेखि काठमाडौंमा सुरु भएको सम्मेलन वैशाख ३० गतेसम्म चल्नेछ। सम्मेलनमा दक्षिण एशियाका ६ राष्ट्रका ११ जना विदेशी वरिष्ठ पत्रकारसहित देशभरिका दुई सयभन्दा बढी पत्रकार र विषय विज्ञ सहभागी छन्।
सम्मेलन अवधिभर लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु परिवर्तनका मुद्दामा काठमाडौं, पोखरा, जोमसोम र लोमान्थाङमा बहस, छलफल र घोषणापत्र जारी गरिने आयोजकको भनाइ छ।
सच्याइएको : नेपाल प्रेस युनियनका अध्यक्षको नाम अन्यथा भएकोले सच्याइएको छ ।