नेपाली संसद पुँजीपतिहरुको सञ्चालक समिति सावित – मेयर प्रजापति

भक्तपुर । नेपाली संसद पुँजीपतिहरुको सञ्चालक समिति सावित भएको भक्तपुर नगरपालिकाको मेयर सुनिल प्रजापतिले आरोप लगाएका छन् ।

कम्युनिस्ट नेता कार्ल मार्क्सले संसद पुँजीवादी व्यवस्थाको सञ्चालक समिति हुने उतिबेला भनेको कुरा नेपालमा अहिले पनि चरितार्थ भइरहेको अधिवक्तासमेत रहेका नगर प्रमुख प्रजापतिले आरोप लगाएका हुन् । 

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ ल’ ले कानुन दिवसको अवसरमा आयोजना गरेको प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “संसद्मा ठेकेदार, एनजीओका प्रतिनिधि, बैड्ढ मालिक, व्यापारी, निर्माण व्यवसायीहरूको प्रतिनिधिहरू पुगेकाले त्यहाँबाट निर्माण हुने कानुन पनि पुँजीपति वर्गकै हितमा हुन्छ ।”

नेमकिपाका केन्द्रीय सदस्यसमेत रहेका प्रमुख प्रजापतिले पुँजीवादी बन्दोबस्तमा कानुन पुँजीपतिवर्गको पक्षमा बनाइने हुँदा अदालतबाट कामदारवर्गका जनताले न्याय नपाउनेतर्फ कानुनका विद्यार्थी स्पष्ट हुुनु जरूरी रहेकोमा जोड दिए ।

“यो ब्यवस्थामा जनताको हितमा कानुन र न्यायालय हुँदैन ।” उनले भने, “जनताको हितमा कानुन बदल्नेतर्फ जनताका वकिलहरूले ध्यान दिनुपर्छ ।”

कानुनको शासन भन्नुभन्दा पनि कानुन जनताको हितमा बनेको छ वा छैन भन्नेतर्फ ध्यान दिनु महत्वपूर्ण हुने धारणा उनको रहेको छ ।

कानुनअनुसार फैसला गरे पनि सबैको लागि न्याय नहुनेतर्फ सचेत हुनुपर्ने आवश्यकता औल्याउदै उनले भने , “बाली नबुझाएको आधारमा कानुनअनुसार मोहीलाई निष्काशन गर्ने फैसला किसानको पक्षमा हुदैन । बरू जमीन जोत्ने किसान नै जमिनको मालिक बनाउने कानुन निर्माण गर्नु जरूरी छ ।”

संविधानमा कक्षा १२ सम्म निःशुल्क हुने व्यवस्था गरे तापनि कानुन बनाएर निःशुल्क शिक्षाको बन्दोबस्त गर्न नसक्नुमा सरकार दोषी रहेको उनको आरोप छ ।

प्रमुख प्रजापतिले शासन सत्तामा बस्नेहरू इमानदार नभएकाले देशको स्थिति निराशाजनक बनेको बताए ।