मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग र उत्तरदक्षिण करिडोर हामीले शुरु गरेका हौं – प्रचण्ड

पाँचथर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका विभिन्न भौगोलिक क्षेत्रलाई जोड्ने मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग र उत्तर–दक्षिण करिडोर जस्ता पूर्वाधार विकासका अभियान माओवादी नेतृत्वको सरकारले सुरु गरेको बताएका छन् ।

पाँचथर जिल्ला समन्वय समितिद्वारा फिदिम बजारमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै शनिबार उनले सोकुरा बताएका हुन् ।

भर्खरै सम्पन्न ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ पार्टीको मात्रै नभई जनताको अभियान बनेको भन्दै, केही दिनमै सुरु हुने औपचारिक चरण बैतडीबाट भए पनि पाँचथरको कार्यक्रम सोही अभियानको पूर्वसञ्चार भएको उनले स्पष्ट पारे।

“मध्यपहाडी लोकमार्गको प्रस्तावक हामी हौं, यसको पूर्वी सुरुआत पाँचथरमा छ,” उनले भने, “यस क्षेत्रका जनताको हितमा बनेका पूर्वाधार अभियानहरू पनि हामीले नै सुरु गरेका हौं।”

पछिल्लो पटक सरकारको नेतृत्व गर्दा सामाजिक न्याय, सुशासन र आर्थिक सुधारका अभियान सञ्चालन गर्दा बिचौलिया र दलालहरूले सरकार ढालेको भन्दै उनले टिप्पणी गरे। “बैंक ब्याजदर घटाउने, बैंकिङ प्रणाली सुधार गर्ने, जनताको पक्षमा काम गर्दा बिचौलिया र दलालहरूलाई मन परेन, त्यसैले रातारात सरकार ढालियो,” उनले भने।

संविधान मिचेर सरकार ढालिएको भन्दै प्रचण्डले कांग्रेस र एमालेसँग पटक–पटक मिल्दा आफूहरू पनि उनीहरूजस्तै देखिएको बताए। “अब भने मिल्ने छैन, आफ्नै खुट्टामा उभिएर अघि बढ्नेछौं,” उनले भने।

स्थानीय तह, स्ववियू निर्वाचन र पत्रकार महासंघलगायत पछिल्ला निर्वाचनमा माओवादी केन्द्रले उल्लेखनीय परिणाम ल्याएको जनाउँदै, उनले आगामी निर्वाचनमा पार्टी एक्लै अघि बढ्ने र जनताको पक्षमा सुरु गरिएका कामलाई निरन्तरता दिने बताए।