इस्लामाबाद । पाकिस्तानले भारतीय प्रधानमन्त्रीद्वारा हालै सार्वजनिक गरिएको अभिव्यक्तिलाई “उकास्ने र भडकाउने” भन्दै तीव्र विरोध जनाएको छ।
परराष्ट्र मन्त्रालयको प्रवक्ताको कार्यालयमार्फत जारी गरिएको प्रेस विज्ञप्तिमा उक्त अभिव्यक्तिलाई “राजनीतिक स्वार्थ, गलत सूचना र अन्तर्राष्ट्रिय कानुनको खुला उल्लंघन” मा आधारित खतरनाक कदमका रूपमा चित्रण गरिएको छ।
प्रेस विज्ञप्तिमा पाकिस्तानले हालै भएको युद्धविराम सम्झौतालाई सुदृढ पार्न आफू प्रतिबद्ध रहेको बताएको छ। पाकिस्तानका अनुसार यो सम्झौता केही मैत्रीपूर्ण देशहरूको पहलमा सम्भव भएको थियो। साथै, युद्धविरामलाई “हताशा र निराशाको परिणाम” भनेर भारतले गरेका दावीहरूलाई पाकिस्तानले स्पष्ट रूपमा अस्वीकार गरेको छ।
पाहलगाम आक्रमणको दोष पाकिस्तानमाथि थोपर्न खोजिएको र त्यसको कुनै विश्वसनीय प्रमाण नभएको उल्लेख गर्दै, पाकिस्तानले भारतलाई “आक्रामक र गैरजिम्मेवार राष्ट्र” को संज्ञा दिएको छ।
विज्ञप्तिमा भनिएको छ, “भारतको गैरकानुनी कारवाहीले दक्षिण एशियाली क्षेत्रमा रणनीतिक अस्थिरता सिर्जना गरिरहेको छ।”
पाकिस्तानी सेनामाथि आक्रमण गरेर भारतले स्थिति अझ तनावपूर्ण बनाएको आरोप लगाइएको छ। पाकिस्तानले आफ्ना सैन्य प्रतिक्रिया “संयमित र केवल सैन्य अड्डाहरूलाई लक्षित” भएको दाबी गर्दै आत्मरक्षामा गरिएको बताएको छ।
यसबाहेक, पाकिस्तानले भारतमाथि इन्डस जल सन्धिलगायत अन्तर्राष्ट्रिय सन्धिहरूको उल्लंघन गरेको आरोप लगाएको छ। साथै, पाकिस्तानले कश्मीर विवाद समाधानका लागि संयुक्त राष्ट्रसंघको प्रस्तावअनुसार शान्तिपूर्ण पहललाई निरन्तरता दिने प्रतिबद्धता दोहोर्याएको छ।
पाकिस्तानले शान्तिप्रति आफ्नो प्रतिवद्धता दोहोर्याउँदै चेतावनी दिएको छ कि भविष्यमा कुनै पनि प्रकारको आक्रमण भएमा त्यसको जवाफ दृढताका साथ दिइनेछ। विज्ञप्तिमा अन्तर्राष्ट्रिय समुदायलाई पनि क्षेत्रीय परिस्थितिमा गहिरो निगरानी राख्न आग्रह गरिएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार पाकिस्तानलाई पाकिस्तानलाई आतंकवादको “ठेगाना” भनेर चेतावनी दिँदै भनेका थिए कि यदि पाकिस्तानले आतंकवादको समर्थन बन्द नगरेमा गम्भीर परिणाम भोग्नुपर्नेछ, जसमा “पूर्ण विनाश” समेत समावेश हुन सक्छ।
उनले भारत आतंकवादको विरुद्धमा कुनै सम्झौता नगर्ने स्पष्ट पारेका थिए।