रहेनन् संसारकै सबैभन्दा गरीब राष्ट्रपति

उरुग्वे । उरुग्वेका पूर्व राष्ट्रपति जोसे अल्बर्टो मुजिका कोर्डानो (पेपे मुजिका) को ९० वर्षको उमेरमा निधन भएको छ। सरल जीवनशैली र समाजवादी विचारधाराका प्रतीक मुजिकाको निधनले विश्व समाजवादी आन्दोलनले एक महत्वपूर्ण नेता गुमाएको छ।

सन् २०१० देखि २०१५ सम्म उरुग्वेको राष्ट्रपतिको जिम्मेवारी सम्हालेका मुजिका ‘संसारकै सबैभन्दा गरीब राष्ट्रपति’ भनेर विश्वमा चर्चित थिए। उनले आफ्नो तलबको अधिकांश हिस्सा दान गर्ने गर्थे र राष्ट्रपति हुँदा पनि ग्रामीण इलाकामा रहेको सानो फार्म हाउसमा जीवन बिताएका थिए।

छापामार लडाकुका रूपमा सक्रिय रहँदै उनी दर्जनौं गोलीका बाबजुद जीवित रहे। त्यसपछि उनलाई पक्राउ गरेर १२ वर्षसम्म कठोर एकान्त कारावासमा राखिएको थियो। यो समय उनका लागि अत्यन्त पीडादायक भए पनि उनले त्यहीँबाट समाज, राजनीति र मानवताको गहिरो चिन्तन गरे।

मुजिका ल्याटिन अमेरिकाको “गुलाबी लहर” भनेर चिनिने सन् २००० को दशकको बामपन्थी उदयका अग्रणी नेतामध्ये थिए। अर्जेन्टिना, ब्राजिल, चिली, बोलिभिया लगायत देशहरूमा समाजवादी सरकार सत्तामा आउँदा उनी त्यस लहरको केन्द्रमा रहेका थिए।

उनको निधनसँगै ल्याटिन अमेरिकी बामपन्थी राजनीति र विश्वव्यापी समाजवादी आन्दोलनले एक प्रतीक गुमाएको छ। सामाजिक समानता, न्याय र सादगीको जीवनशैलीप्रतिको उनको प्रतिबद्धता धेरैका लागि प्रेरणादायी रहेको छ।

जोसे मुजिकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै विश्वभरका नेताहरू, सामाजिक कार्यकर्ता र सर्वसाधारणले उनको योगदानलाई स्मरण गरिरहेका छन्।