धरान । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धरानमा आयोजित किराती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको संयुक्त सम्मेलनमा सहभागी हुन पुगे।
त्यहाँ उनले अहिलेको निर्वाचन प्रणाली जनताको नभई धनी र शक्तिशालीहरुको पक्षमा रहेको भन्दै संविधान संशोधनको खाँचो औंल्याए।
प्रचण्डले राष्ट्रपतीय प्रणाली र जनमुखी समानुपातिक निर्वाचन प्रणाली आवश्यक भएको बताए। संविधान संशोधन गरेर समाजवादी र समावेशी व्यवस्थातर्फ लम्किनुपर्ने उनको धारणा थियो।
उनले माओवादी आन्दोलनबाट प्राप्त उपलब्धिहरू जनतासँग मिलेर बनाएको संविधानमा समेटिएको भन्दै अब फेरि उत्पीडित वर्ग, जाति, लिङ्ग र क्षेत्रका जनतासँग सम्बन्ध बलियो बनाउने अभियानमा लागेको बताए।
उनको आफ्नो नेतृत्वको सरकारले मध्यपहाडी लोकमार्ग, हुलाकी मार्ग, उत्तर–दक्षिण करिडोरजस्ता ठूला पूर्वाधारको थालनी गरिएको स्पष्ट पारे ।
माओवादी नेतृत्वमा लोडसेडिङ अन्त्य, मधेसको आन्दोलन समाधान, नागरिकता समस्याको अन्त्य, मिटरव्याज समाधान र सामाजिक सुरक्षा योजना अघि बढाइएको उनले बताए ।
भ्रष्टाचारविरुद्ध निर्मम रूपमा अभियान चलाइएको बेला आफूमाथि पनि अनुसन्धान परे नछाड्न निर्देशन दिएको खुलासा गरे।
उनले दलाल र पुँजीपति वर्गले जनताको सरकार हटाएर भ्रष्ट शक्तिलाई अघि ल्याएको आरोप लगाए। माओवादी बलियो नबनिए उत्पीडित वर्ग र जनताको आवाज दबिने उनले बताए।
प्रचण्डले धरानका मेयर हर्क साम्पाङलाई “लोकतन्त्रमा फुलेको सुन्दर फूल” भने पनि उनले बारम्बार माओवादीप्रति नकारात्मक धारणा देखाउनु ठीक नहुने सुझाब दिए।
अन्त्यमा, उनले सबै उत्पीडित, परिवर्तन चाहने, पहिचानका पक्षधरहरू र नयाँ अनुहारहरूलाई माओवादी केन्द्रसँग हातेमालो गरेर संविधान संशोधन र समाजवादी अभियानमा अघि बढ्न आह्वान गरे।