भक्तपुरमा करिब ७२ लाख बराबरको अवैध कपडा र धाराका पार्टपुर्जा बरामद

भक्तपुर । भक्तपुर प्रहरीले करिब ७२ लाख बराबरको अवैध कपडा र धाराका पार्टपुर्जा बरामद गरेको छ ।

भक्तपुरको सूर्यविनायक-८ जगाती स्थित अरनिको हाइवेको चेकप्वाइन्टमा चेकजाँच गर्दा साँगाबाट भक्तपुरतर्फ आईरहेको बा. ४ ख. ७६० नम्बरको सेतो रंगको ट्रकबाट आइतबार बिहान करिब १० बजेको समयमा सो कपडा र धाराका पार्टपुर्जा बरामद भएको हो ।

भन्सार छली गरेर चोरी पैठारीका कपडालगायत सामानहरु आइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्नेक्रममा अवैध कपडा फेला पारेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी रहेका डिएसपी ढुन्डीराज नेउपानेले जानकारी दिए ।

ट्रकमा परालको भुस लोड गरी भुस मुनिपट्टी भन्सार छलेर चोरी पैठारी गरी ल्याएको कुर्ता सुरुवाल, धाराको पार्टपुर्जा लगायतका सामान भेटिएको जिल्ला प्रहरी बृत्त जगातीका प्रमुख रहेका डिसपी रमेश पालले बताएका छन् ।

अवैध सामनसहित ट्रक र चालक दोलखा कालिन्चोक गाँउपालिका-२ का ४७ वर्षिय लक्ष्मण थामीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।” उनले भने ।

ट्रकबाट कुर्ता सुरुवाल – ३हजार ८ सय ८७ थान, सर्ट – ३५६ पिस, सर्टको कपडा २ सय ८० रोल, ब्लाउज – १ हजार ८ सय ७५ पिस लगायत साडी र पर्दासहित धाराका पार्टपुर्जा बरामद भएको जगाती बृत्तले पुष्टि गरेको छ ।

नियन्त्रणमा लिएको मालसामान, ट्रक र ट्रक चालक थामीलाई थप अनुसन्धानका लागि सोमबार नै राजस्व अनुसन्धान बिभाग पठाइने जिल्ला प्रहरी परिसरका प्रमुख रहेका एसपी माधव बुढाथोकीले बताएका छन् ।