ललिता साह, भक्तपुर। विद्यार्थी नेताहरूले नेपालमै पर्याप्त अवसर र मेरिट सिट नहुँदा नेपाली विद्यार्थीहरू अन्य देशका कलेजहरू धाउन बाध्य भएको र त्यसैले प्रिषा शाह र प्रकृति लम्सालजस्ता युवाहरूले ज्यान गुमाउनु परेको बताएका छन्।
‘युथ भिजन’ अन्तर्गत युवा सरोकार विषयक नीतिगत छलफल कार्यक्रममा सहभागी विद्यार्थी नेता र नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले भारतको उडिसास्थित किट कलेजमा भएको घटनाप्रति चिन्ता व्यक्त गरे।
मन्त्री चौधरीले स्वरोजगार कोषमा रहेको २ अर्ब रुपैयाँ विभिन्न कारणले वितरण गर्न नसकेको स्वीकार गर्दै नीतिगत रूपमा त्यसलाई कार्यान्वयन गर्ने र देशमै युवाहरूलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाए।
पुल्चोक कलेज स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष निराजन सुवेदीले देशमा इलेक्ट्रोनिक्स इन्जिनियरिङ, बिटेकजस्ता विषयमा मेरिट सिट नभएकै कारण विद्यार्थीहरू भारत जान बाध्य भएको बताए।
नेपाल ल कलेज स्ववियुका अध्यक्ष समीर रिजालले अध्ययनपछि रोजगारीको चिन्ताले युवाहरू विदेशिन बाध्य भएको उल्लेख गर्दै सरकारले ‘पढ्दै कमाउँदै’ कार्यक्रम ल्याउनु पर्ने सुझाव दिए।
सानोठिमी कलेजका स्ववियु अध्यक्ष नरेन्द्र सिंह ठगुनाले शैक्षिक प्रमाणपत्रका आधारमा युवालाई ऋण दिने व्यवस्था व्यवहारमा लागू नभएको भन्दै प्रश्न उठाए। बानेश्वर क्याम्पसका अध्यक्ष भूराज अधिकारीले कर्णालीका युवा अझै भारतमा मजदुरी गर्न बाध्य भएको बताए। उपत्यकाका विभिन्न कलेजका प्रतिनिधिहरूले नीति कार्यान्वयनको अवस्थाबारे ‘रिभ्यू कमिटी’ गठन गर्न, राष्ट्रिय युवा अनलाइन पोर्टल सञ्चालनमा ल्याउन र शैक्षिक प्रणाली परिमार्जन गर्न सुझाव दिए।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरि लम्सालले फुल टाइम पढाएर मात्र समस्या समाधान नहुने धारणा राखे। नेपाली कांग्रेसका शिक्षा विभाग संयोजक नैनसिंह महरले नीति ल्याउनु भन्दा कानमनको पाटो महत्वपूर्ण रहेको बताए।
कर्णाली प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष योगेन्द्र शाहीले ‘युथ भिजन’ को कार्यपत्र प्रस्तुत गरेका थिए। राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवा महाशाखा प्रमुख सुवासचन्द्र शिवाकोटी, परिषद्का संस्थापक उपाध्यक्ष माधव ढुङ्गेल, टिका कँडेल लगायतले कार्यपत्रमाथि टिप्पणी गरे।