काठमाडौँ । प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी) ले देशको आर्थिक र सामाजिक सुधारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई मागपत्र बुझाएको छ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूले प्रधानमन्त्री ओलीसँग भेटेर मागपत्र बुझाएका छन् ।
‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने नारासहित उक्त मागपत्रमा कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, सुशासन, विदेश नीति र संविधान पुनरावलोकनसम्बन्धी सुझावहरू समेटिएका छन्।
तीनकुने घटनाका बेला पार्टी कार्यालयमा भएको तोडफोडको उचित क्षतिपूर्तिको माग पनि अध्यक्ष नेपालले सरकारसमक्ष राखेका छन्।
मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमको अन्तिम तयारी भइरहेको भन्दै आगामी बजेट निर्माणमा ती सुझावहरू समेट्ने प्रयास गर्ने प्रतिवद्धता प्रकट गरेका उनका प्रेस संयोजक प्रकाश सिलवालले बताए । प्रधानमन्त्रीले पछिल्लो समय देखिएको प्रतिगामी र अतिवादी प्रवृत्तिको विरोध गर्नु जरुरी भएको उल्लेख गरेका बताइएको छ ।
प्रतिनिधिमण्डलमा अध्यक्ष नेपालसँगै वरिष्ठ नेता प्रवेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्षहरू प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, महासचिव घनश्याम भुसाल र सचिव सावित्रा कुमारी भुसाल सहभागी थिए।
भेटघाट करिब एक घन्टा चलेको र सोक्रममा समसामयिक राजनीतिक विषय र विगतका केही घटनाहरूको स्मरण पनि गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले बताएका छन् ।