नक्कली पत्रले थुनामा पुर्याइएका रेशम रिहा

काठमाडौ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई आज सर्वोच्च अदालतको आदेशमा कैद भुक्तान गर्नुपर्ने भन्दै पक्राउ गरिएकोमा तत्काल अर्को पत्रका आधारमा कारागार मुक्त गरिएको छ ।

उनलाई आज काठमाडौंको प्रज्ञा भवनमा आयोजित नाउपा र जनमत पार्टीबीचको एकीकरण घोषणा सभाको दिन पक्राउ गरि डिल्लीबजार कारागार चलान गरिएको थियो । 

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई तत्काल थुनामुक्त गर्न सर्वोच्च अदालतले प्रहरीलाई अर्को पत्र पठाएपछि उनी थुनामुक्त भएका छन् ।

सर्वोच्चको मुद्दा तथा रिट शाखाका शाखा अधिकृत महिमानसिंह विष्टले चौधरीलाई पक्राउ गर्न पत्र जारी गरेका थिए। 

तर, उक्त पत्रमा कुनै न्यायाधीशको आदेश नरहेको र विष्टले योगराज ढकाल (रिगल) को मुद्दाको नजिरलाई आधार बनाएर पत्र लेखेको खुलेपछि उनलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले बताए ।

पार्टी एकीकरणकै दिन चौधरीलाई पक्राउ गरेपछि नाउपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ भने जनमत पार्टीका अध्यक्ष सिके राउतले एकीकरण बिरुद्ध षड्यन्त्र गर्न खोजिएको प्रतिक्रिया दिएका छन् ।

रेशम चौधरी २०७२ साल भदौमा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा दोषी ठहरिएका थिए, जसमा आठ सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो। जिल्ला र उच्च अदालतले उनलाई जन्मकैदको सजाय सुनाएको थियो, जुन सर्वोच्च अदालतले पनि २०८० साल जेठ २ गते सदर गरेको थियो ।

२०७९ साल जेठमा गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा चौधरीसहित ५०१ जनालाई कैद माफी दिएका थिए, जसपछि चौधरी रिहा भएका थिए । तर, सर्वोच्च अदालतमा चौधरीको आममाफीविरुद्ध रिट निवेदन दायर गरिएको छ, जसमा माफी खारेज गर्न माग गरिएको छ । यो मुद्दा बिचाराधिन छ ।