आन्दोलनरत शिक्षक र सरकारबिच यस्तो सहमति

काठमाडौ । विगत २९ दिनदेखि सडक आन्दोलन गर्दै आएका शिक्षकहरू र सरकारबिच सहमति भएको छ। शिक्षा मन्त्रालयमा बुधबार भएको वार्तापछि सहमति भएको हो। शिक्षक र सरकारबीच ९ बुँदे सहमति भएको छ ।

बुधबार भएको ९ बुँदे सहमति मन्त्रिपरिषद बैठकले अनुमोदन गरेसंगै सार्वजनिक भएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नौ बुँदे मागलाई अनुमोदन गरेको शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री रघुजी पन्तले जानकारी दिए । सहमति भएका विषयहरू मन्त्रिपरिषद्बाट पारित भएपछि शिक्षामन्त्री पन्तले निर्णयहरू सार्वजनिक गरे ।

मन्त्रिपरिषद‍्ले शिक्षक, विद्यालय कर्मचारीलाई निजामति अस्पतालमा सहुलियतमा उपचारको व्यवस्था मिलाउने, राहतलगायत अस्थायी शिक्षकलाई बिरामी बिदा सञ्चित गर्ने, सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने, ग्रेड समायोजन गर्ने, बालविकास शिक्षकलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको मन्त्री पन्तले प्रष्ट पारे ।

सरकार र सत्तारूढ दलले शिक्षकहरूलाई असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता जनाएका छन्।

सहमति भएसगै आन्दोलनको नेतृत्व गरेको नेपाल शिक्षक महासंघले चैत २० देखि जारी गरेको आन्दोलन स्थगित गरेको छ ।