सेवाघरमा आश्रितसंग दु:ख साट्दै दिपशिखाले मनाए जन्मदिन

भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशिखा’ले मानव कल्याण समाज (सेवाघर)मा आश्रितहरुसंग दु:ख साट्दै आफ्नो जन्मदिन मनाएका छन् ।

उनीहरूलाई खाद्यान्न सहयोगसहित बेलुकाको भोजन स-प्रेम अर्पण गर्दै उनले सोमबार आफ्नो जन्मदिन मनाएका हुन् ।

भक्तपुरको मध्यपुर थिमि-३ का स्थायीबासी बनिसकेका दिपशिखा र उनकी पत्नी गाेमा आलेले भक्तपुरकै चाँगुनारायण-३ मा झौखेलमा रहेको सेवाघरमा पुगी उनीहरूसंग आफ्नो जन्मदिन मनाएका सेवाघरकी सञ्चालक सुमी मानवले बताइन् ।

सडकबाट उद्धार गरी सेवाघरका रहेका जेष्ठ नागरिकलाई बेलुकाको मिस्ठान्न भोजन गराएका सापकोटा दम्पतीले थप खाद्यान्न सामग्रीहरूहरु सहयोगस्वरुप हस्तान्तरण गरेका उनले जनाएकी छन् ।

“५ बिरा चामल, १ कार्टुन तेल, नुन, दाल, चना, हरियो बोडी, काउली र आलु उहाँहरुले दिनुभयो ।” मानव कल्याण समाजकी अध्यक्षसमेत रहेकी सुमी मानवले सुनाइन् ।

युवा नेता समेत रहेका दिपशिखा दम्पतीबाट सेवा, प्रेम र प्रेरणाका लागि गरिएको यो कार्यले समाजमा सकारात्मक ऊर्जा फैलाउने उनले अपेक्षा गरेकी छन् ।

सेवाघरमा आश्रय लिइरहेका जेष्ठ नागरिकले टिभीमा देखेको नेतालाई आफैसंग पाउँदा खुशी ब्यक्त गरेका थिए । उनीहरूले आफूले सहरा पाएपनि आफूहरू जस्तै बेसहराहरुको लागि सहरा खोजिदिन आग्रह गरे ।

सेवाघरमा जन्मदिन मनाउँदा छुट्टै सन्तोष मिलेको प्रतिक्रिया दिदैँ युवा नेता दिपशिखाले बेसहारा मानिसको सहरा बन्ने सेवाघरलाई सदैव साथ र सहयोग दिने प्रतिवद्धता पनि प्रकट गरे ।

सो अवसरमा स्थानीय समेत रहेका नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश समिति सदस्य रामशरण दाहाल, चाँगुनारायण उपाध्यक्ष सुमन दाहाल, सेवाघरका अभिभावक एवम् वाइसीएल भक्तपुरका इन्चार्ज नरेश रञ्जित, वाइसीएलका नेताहरू वेदप्रसाद खरेल, राजु कुटु , रोशन बासुकला, सरराज उप्रेती, सुरेन्द्र सुवाल र जानुकी श्रेष्ठ लगायतकोसमेत उपस्थिति रहेको थियो ।