भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा सक्रिय नगरस्तरीय स्वच्छ हावा प्रवर्द्धन सञ्जालले आफ्नो पहिलो साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ।
सञ्जालले वार्षिक समीक्षा सहित वातावरणीय क्षेत्रमा गरिएको गतिविधिको विस्तृत विवरण सार्वजनिक गर्दै साधारण सभा सम्पन्न गरेको हो।
सञ्जालकी सचिव सोनु खड्काले नगर क्षेत्रभित्रको वातावरणलाई स्वस्थ र स्वच्छ बनाउने उद्देश्यले सञ्जालले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइन्। नागरिक तहबाट वातावरण संरक्षणमा योगदान पु¥याउने हेतुले सञ्जालले उल्लेखनीय पहलहरू अघि सारेको उनले बताइन्।
कार्यक्रममा सञ्जालका सल्लाहकार नवराज काफ्लेले नगरपालिकाले तय गरेका सरसफाइ केन्द्रित कार्यक्रममा सञ्जालको सक्रिय सहभागिता रहेको भन्दै नागरिक पक्षलाई थप जिम्मेवार बनाउन सञ्जालको भूमिकालाई लिएर प्रशंसा गरे।
नगरपालिकाको वास शाखाका प्रमुख सुरेन्द्र लामिछानेले सञ्जाललाई नगरका प्रत्येक वडामा कम्तीमा दुईवटा समुदाय छान्दै अध्ययन तथा अनुसन्धानमूलक ढंगले काम गर्न सुझाव दिए। उनले नागरिकस्तरबाट आएको पहललाई संस्थागत गर्दै वातावरण सुधारमा थप योगदान गर्न पालिका प्रतिवद्ध रहेको प्रष्ट पारे ।
सञ्जालका सल्लाहकार तथा वातावरणविद् हिम्मतसिंह लेकालीले फोहरमैला व्यवस्थापनमा विद्यालय र विद्यार्थीहरूको महत्वपूर्ण भूमिका रहेको भन्दै सञ्जाललाई विद्यालय केन्द्रित सचेतना कार्यक्रमलाई प्राथमिकता दिन सुझाव दिए।
अन्त्यमा, सञ्जालकी अध्यक्ष रविता लामिछानेले साधारणसभाबाट प्राप्त सुझाव र मार्गनिर्देशनलाई समेट्दै वातावरण सुधारका अभियानलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।