ललिता साह, भक्तपुर । देशको अर्थतन्त्र मजबुत बनाउन पर्यटन र युवा उद्यमजस्ता व्यवसायिक क्षेत्रहरूमा योजना र लगानी अपरिहार्य रहेको नेकपा एमालेका युवा नेता तथा पूर्वमन्त्री महेश बस्नेतले बताएका छन्।
सूर्यविनायक नगरपालिका वडा नं ७ को कार्यालय र राष्ट्रिय युवा परिषद्को संयुक्त लागत साझेदारीमा आयोजित “युवा मार्गदर्शन तथा मनोसामाजिक परामर्शसहित युवाका सीपमा आधारित मोटर ड्राइभिङ्ग एकदिने अभिमुखिकरण तालिम”को सोमबार गुण्डुमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
नेता बस्नेतले भने, “भक्तपुरमा हिजो दुर्गम भनिने भूगोलमा प्रविधि र स्रोतको अभावबीच काम गरेर आज टोलटोलमा विकास ल्याउन सफल भयौं।”
सडक, विजुली र टेलिफोन जस्ता पूर्वाधारहरू विकास गर्दै भक्तपुरका गुण्डुजस्ता विकट बस्तीहरूमा परिवर्तन ल्याउन सफल भएको उनको भनाइ छ ।
उनले वर्तमान पुस्ताका केही जनप्रतिनिधिहरू रवि लामिछाने, बालेन साह र हर्क सामपाङ लगायतको खुलेर बिरोध गरे ।
“युवा वर्गले समेत समाज र धरातल हेरेर होइन, सामाजिक सञ्जाल हेरेर धारणा बनाउँछन्।” नेता बस्नेतले गुनासो गरे । आफूहरूले विकास गर्न खोज्दा उनीहरूले विनाशको आरोप लगाउने र केही नगरेर हल्ला मात्र गर्नेको पछि युवाहरू दगुर्ने प्रवित्ति बढेको उनको गुनासो छ ।
कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले पनि युवा सचेतना अभावले देशमा कानुन र प्रणाली पालना नहुने अवस्था आएको बताए। उनले भने, “युवाहरू विदेश जान मात्रै होइन, फर्किनेहरूको तथ्यांक र उनीहरूले आर्जन गरेको सीप देशमा लगानी गर्ने प्रयासहरूबारे पनि चर्चा गरिनु जरुरी छ। विदेश घुम्न राम्रो हो, जीवनयापन गर्न भने आफ्नै देश स्वर्ग हो।”
उपाध्यक्ष बस्नेतले बेरोजगारी न्यूनीकरणका लागि सूचना प्रविधिको सदुपयोग गर्दै देशमै स्वरोजगार बन्नुपर्नेमा जोड दिए।
त्यसैगरी, कार्यक्रममा राष्ट्रिय युवा परिषद्का प्रमुख प्रशासनिक अधिकृत गेहनाथ गौतमले परिषद्ले युवा उद्यमशीलतालाई प्राथमिकता दिएर विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिए।
मनोविमर्शकर्ता विकास योञ्जन र बालकृष्ण पोखरेलले प्रशिक्षण दिएको एकदिने अभिमुखिकरणमा गुण्डु क्षेत्रका करिब एक सय युवाको उपस्थिति रहेको परिषद्का खुलानाथ गौतमले जानकारी गराए।