शिक्षक आन्दोलनको क्रममा घाइते पत्रकारको तत्काल उद्धार गर्ने प्रहरी पुरस्कृत

काठमाडौ । नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको शिक्षक आन्दोलनको रिपोटिङका क्रममा आइतबार बानेश्वरमा घाइते भएकी पत्रकार सबिना कार्कीलाई तत्काल उद्धार गरी थप उपचारका लागि नजिकको अस्पताल पुर्‍याउन सहयोग गर्ने जिल्ला प्रहरी परिसर, काठमाडौं अन्तर्गत मालीगाउँमा कार्यरत प्रहरी सहायक हवल्दार (प्र.स.ह.) तारा बहादुर घर्तीलाई सम्मान गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौले उनलाई पुरस्कार सहित सम्मान गरिएको जनाएको हो ।

आइतबार भएको घटनामा, आन्दोलनले चर्किएको बेलामा प्रहरी वृत्त, मालीगाउँमा कार्यरत घर्तीले कर्तव्यपरायणता प्रदर्शन गर्दै घाइते पत्रकारलाई काँधमा बोकेर सुरक्षीतरुपमा अस्पताल पुर्‍याएका थिए।

उनको मानवता र तिव्र कार्यक्षमताको कदर गर्दै जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई पुरस्कार प्रदान गरेको एसपी अपिलराज बोहराले बताए ।

यस सम्मानले सुरक्षाकर्मीहरू आन्दोलन रोक्न मात्र नभई, नागरिकको ज्यान जोगाउन पनि तत्पर रहने उदाहरण प्रस्तुत गरेको छ।

यता, पत्रकार सबिना कार्कीको भने केएमसी अस्पतालमा उपचार भइरहेको उनका सहकर्मी एवं नेपाल पत्रकार महासंघ ललितपुरका सचिव दीपक अर्यालले जानकारी गराएका छन् । 

पानीको फोहोराले आँखामा गम्भीर आघात पारेपछि उपचाररत कार्कीको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको अर्यालको भनाइ छ ।