मध्यपुर थिमिको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा पनि ब्लड बैंक

भक्तपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजहरूलाई आवासीय चिकित्सकको पारिश्रमिक सम्बन्धी सरकारी निर्णय अविलम्ब कार्यान्वयन गर्न चेतावनी दिएका छन् । भक्तपुरको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालको १७औं वार्षिकोत्सव समारोहमा सोमबार आयोजित कार्यक्रममा मन्त्री पौडेलले निजी क्षेत्रले चिकित्सकहरूको अधिकार नमान्दा सरकारबाट कुनै सहयोग नपाउने स्पष्ट पारेका हुन्  ।

“स्वास्थ्य मन्त्रालयले आवासीय चिकित्सकलाई मासिक ४८ हजार ७ सय रुपैयाँ दिने निर्णय गरिसकेको छ। सो निर्णय कार्यान्वयन नगर्ने निजी मेडिकल कलेजहरूले अब राज्यको कुनै सहयोग पाउने छैनन्,” मन्त्री पौडेलले प्रष्ट पार्दै । उनले आन्दोलनरत चिकित्सकहरूलाई पनि स्वास्थ्य जस्तो संवेदनशील सेवा अवरुद्ध नगरी माग अघि सार्न आग्रह गरेका हुन् ।

कार्यक्रमका क्रममा नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा नवस्थापित अत्याधुनिक रक्त सञ्चार केन्द्र (ब्लड बैंक) को उद्घाटन मन्त्री पौडेल र नगरप्रमुख सुरेन्द्र श्रेष्ठले संयुक्तरूपमा गरेका थिए  । मन्त्री पौडेलले नगरस्तरमै अत्याधुनिक ब्लड बैंक स्थापना हुनु स्वास्थ्य क्षेत्रमा ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै अस्पताललाई पुरस्कृत हुने स्तरसम्म सेवा स्तरोन्नति गर्न निर्देशन दिएका छन् ।

नगरप्रमुख श्रेष्ठले अस्पताललाई नगरबासी र सेवाग्राहीका लागि गुणस्तरीय सेवा दिने गरी निरन्तर प्रयास भइरहेको बताएका छन्  । अस्पतालका कार्यकारी निर्देशक डा. डिके रोशनले हाल दैनिक एक हजारभन्दा बढी बिरामीलाई सेवा प्रदान भइरहेको जानकारी दिए ।

समारोहमा वाग्मती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, पूर्व मेयर मदनकृष्ण श्रेष्ठ, उपमेयर अञ्जना देवी मधिकर्मी लगायतको उपस्थिति थियो। कार्यक्रममा सांस्कृतिक प्रस्तुति, रक्तदान कार्यक्रम तथा बिरामीलाई फलफूल वितरणसमेत गरिएको थियो।

मन्त्री पौडेलले सहरी क्षेत्रमा नयाँ अस्पताल खोल्नुभन्दा अवस्थित अस्पतालको प्रभावकारी व्यवस्थापन र सेवा गुणस्तरीकरणमा जोड दिनुपर्ने आवश्यकता औंल्याएका थियो  । साथै, स्वास्थ्य बिमा प्रणालीलाई नागरिक र राज्य दुवैको साझेदारीमा सुधार नगरे संकट थपिन सक्ने चेतावनीसमेत दिएका छन्  ।