लामो समयदेखि न्यायको प्रतीक्षामा रहेका सहकारी पीडितहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलमा अर्धनग्न प्रदर्शन गर्दै सरकारको उदासीनताविरुद्ध आक्रोश पोखेका छन्।
काला वस्त्रले शरीरको केही भाग मात्र छोपेर सडकमा उत्रिएका पीडितहरूले सरकारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे। सरकार र सम्बन्धित निकायहरूले बारम्बार आफ्ना आवाज उपेक्षा गरेकोले यस्तो प्रदर्शन गर्नुपरेको उनीहरूले प्रष्ट पारे ।
प्रदर्शनका क्रममा सहभागीहरूले विभिन्न मागहरू उल्लेखित प्लेकार्डहरू बोकेका थिए। उनीहरूले सरकारलाई चेतावनी दिँदै भने, “हाम्रो आन्दोलनलाई कमजोर नठानियोस्, जबसम्म न्याय पाइँदैन, हामी अझ बलियो ढंगमा अगाडि बढ्नेछौं।”
सहकारी क्षेत्रमा विगतदेखि भइरहेका अनियमितता र ठगीका घटनाले पीडितहरूको जिवनमा परेको संकट अझै समाधान हुन नसक्दा उनीहरू आन्दोलनमा उत्रिन बाध्य भएका हुन्। प्रदर्शनकारीहरूले आफ्नो पीडा र अधिकारका लागि अझ व्यापक संघर्ष गर्ने चेतावनीसमेत दिएका छन्।