पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतलाई आरोप–प्रत्यारोपको राजनीति बन्द गर्न आग्रह गरेका छन् । भारतको जम्मू कस्मिरस्थित पहलगाममा भएको आतंकवादी हमलाको विषयलाई लिएर भारतले पुरानै शैलीमा पाकिस्तान माथि आरोप लगाइरहेको भन्दै उनले त्यसो नगर्न आग्रह गरेका हुन् ।
पाकिस्तान मिलिटरी एकेडेमीमा आयोजित क्याडेट्सको पासिङ आउट परेडलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री शरीफले पाकिस्तान पहलगाम घटनामा तटस्थ, पारदर्शी र विश्वसनीय छानबिनका लागि तयार रहेको बताएका छन्।
आतंकवाद विरुद्ध पाकिस्तानले ठूलो मूल्य चुकाएको भन्दै कुनै पनि किसिमको आतंकवादको पक्षमा पाकिस्तान नहुने उनले स्पष्ट पारे ।
प्रधानमन्त्रीले अफगान भूमिबाट भइरहेका आक्रमणप्रति चिन्ता व्यक्त गर्दै अफगान सरकारसँग सहकार्यको अपेक्षा राखे। साथै, कश्मीरी र प्यालेस्टिनी जनताको हकका लागि समर्थन जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।
प्रधानमन्त्रीले पानी पाकिस्तानका लागि जीवनरेखा भएको उल्लेख गर्दै इन्डस वाटर ट्रीटीअन्तर्गतको पानी रोक्न खोजे कडा जवाफ दिने चेतावनी पनि दिए।
भारतले इन्डस वाटर ट्रीटी निलम्बन गर्ने घोषणा गरेको विषयमा इङ्गित गर्दै प्रधानमन्त्रीले भने, “पाकिस्तानलाई इन्डस वाटर ट्रीटीअन्तर्गत तोकिएको पानी रोक्ने, घटाउने वा मोड्ने कुनै पनि प्रयासलाई पुरै शक्ति र दृढताका साथ जवाफ दिइनेछ र यसमा कुनै प्रकारको भ्रान्ति वा भ्रम नरहोस्।”
पाकिस्तान शान्तिप्रिय देश भएको तर, आफ्नो सुरक्षामा कुनै सम्झौता नगर्ने उनको चेतावनी छ।
समारोहमा सेनाध्यक्ष, सैनिक नेतृत्व, कूटनीतिक प्रतिनिधिहरू र क्याडेटका परिवारजन सहभागी थिए।
