बाबुराम दाहाल, भक्तपुर । भक्तपुरमा पहिलो पटक राष्ट्रव्यापी फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिता हुन लागेको छ ।
नेपाल किक बक्सिङ सङ्घ भक्तपुर जिल्ला समितिले शनिबार पत्रकार सम्मेलन गर्दै सो प्रतियोगिताबारे जानकारी दिएको हो ।
वैशाख १९ र २० गते दुई दिन भक्तपुरको सूर्यविनायक-८ जगातीमा प्रतियोगिता गर्न लागेको सङ्घले जनाएको छ । खेलाडीहरूको तौल जाँच तथा प्रतियोगिताका लागि नाम दर्ता बैशाख १८ गतेसम्मको समयसीमा तोकिएको छ । सोही दिन खेल तालिका सार्वजनिक गरिने आयोजकको तयारी छ ।
दुई दिनसम्म चल्ने यस प्रतियोगितामा सबै प्रदेशका खेलाडी समेटिने र २० भन्दा बढी जिल्लाबाट करिब २ सय खेलाडीहरू सहभागी हुने आयोजक किक बक्सिङ सङ्घ भक्तपुरका अध्यक्ष कृष्णराम जाकिबञ्जारले जनाएका छन् ।
किक बक्सिङ्गलाई आगामी २०औं एसियाली खेलकुदमा समावेश गरिने निर्णयसँगै प्रतियोगिता नेपाली खेलाडीहरूलाई तयारी गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको उनले अध्यक्ष जाकिबन्जारले बताए ।
प्रतियोगिताले राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडी छनौट गरी भविष्यमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि तयार पार्ने बताइएको छ । प्रतियोगिता अन्तर्राष्ट्रिय मान्यता अनुसार तौल तथा वर्गगत रूपमा हुने पनि उनले बताएका छन् ।
प्रतियोगितामा कुल ११ वटा तौल तथा वर्गगत प्रतिस्पर्धा हुने सङ्घका सचिव राजु सिंह बजिकोले बताए । उनका अनुसार पुरुष तर्फ ५१ केजी, ५४ केजी, ५७ केजी, ६३.५ केजी, ६७ केजी, ७५ केजी र खुल्ला तौल वर्गमा प्रतिस्पर्धा हुने छ भने, महिला तर्फ ५२ केजी, ५७ केजी, ६० केजी र खुल्ला तौल वर्गमा प्रतिस्पर्धा हुने छ।
यस्तै प्रतियोगिताको विशेष आकर्षणको रूपमा २ वटा प्रो फाइट (व्यावसायिक स्तरका खेल) पनि खेलाइनेछ भनी अध्यक्षले बताएका छन्।
यस्तो किसिमको प्रतियोगिता भक्तपुरमा पहिलो पटक आयोजना हुन लागेको भन्दै उनले यस्ता प्रतियोगिताबाट खेलाडी तिखारिने र व्यावसायिक रूपमा खेलमा लाग्न सहयोग मिल्ने बताएका छन्।
खेलाडीहरूको सुरक्षालाई ध्यानमा राखेर आयोजक समितिले प्रत्येक खेलाडीलाई प्रतियोगिता अवधिभर लागू हुने गरी २ लाख रुपैयाँ सम्मको बिमा व्यवस्था गरेको सङ्घका सचिव राजु सिंह बजिकोले बताएका छन्।
उनका अनुसार प्रतियोगिता विश्व किक बक्सिङ महासङ्घ (WAKO) द्वारा स्वीकृत K–1 नियमावली अनुसार सञ्चालन हुनेछ। प्रत्येक बाउट ३ राउन्डको हुनेछ र प्रत्येक राउन्डको अवधि २ मिनेटको हुनेछ।
विजेतालाई स्वर्ण, रजत र कास्य पदक तथा उत्कृष्ट टिमलाई विशेष ट्रफी प्रदान गरिने पत्रकार सम्मेलनमा बताइएको छ। प्रो फाइटतर्फ विजेता र उपविजेतालाई नगद पुरस्कारको व्यवस्था गरिएको छ।
सहभागी सबै खेलाडीका लागि प्रतियोगिता अवधिभर २ लाख रुपैयाँसम्मको बीमा सुविधा लागू गरिने आयोजकको भनाइ छ।
प्रतियोगिताले किक बक्सिङ्गको लोकप्रियता बढाउने र युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने विश्वास आयोजक समितिको छ ।
नेपाल किक बक्सिङ्ग संघ, भक्तपुर जिल्ला समितिको संयोजनमा हुन गइरहेको यो प्रतियोगिताले नेपाली खेलकुदको वर्तमान र भविष्यमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको सुशान्त गिरीले जानकारी गराए ।