भक्तपुुर । ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सवको दशौं संस्करणमा दर्शकको आकर्षण बढ्दै गएको छ । शुक्रबार र शनिबार बीस हजार बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् ।
शनिबार बिदाको दिन परेकाले पनि दर्शक बढेका र आइतबार अझ बढ्ने संकेत मिलेको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन् । महोत्सव करिब ५ लाख उपभोक्ताले अवलोकन गर्ने र स्टलहरुबाट करिब १० करोड रुपैयाको कारोबार हुने अपेक्षा गरिएको उनले बताए ।
नयाँ वर्ष एवं बिस्का जात्राको अवसरमा भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी खुला चौरमा आयोजित दशौँ औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवको बिहीबार साँझ बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले उद्घाटन गरेका थिए ।
औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डकोे आयोजनामा हरेक वर्ष संचालित यो महोत्सव नयाँ वर्षको ६ गते सम्मगरी ११ दिनसम्म संचालन हुने महोत्सवका संयोजक दीपक थापाले जानकारी दिएका छन् । महोत्सवमा १ सय ८० स्टल रहेका र सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्न,लत्ताकपडाहरुका साथै कृषि तथा हस्तकलाका सामाग्रीहरु, भाँडाकुडाका सामाग्रीहरु, ब्यापार र पर्यटन प्रवद्र्धन गर्ने स्टलहरु रहेका उनले बताए ।
मनोरञ्जनका लागि महोत्सवमा दैनिक राष्ट्रिय स्तरका कलाकारहरुको हाँस्यव्यङ्ग्य तथा गीत संगीतको विशेष सांगीतिक प्रस्तुती रहने र अन्तिम दुईदिन ख्यातिप्राप्त कलाकार सभागी गराई सास्कृतिक कार्यक्रम (कन्सर्ट) गरिने महोत्सवका प्रेस संयोजक हेमराज ढकालले बताएका छन् । रोटे पिङ्ग, रेनजर, मारुती सर्कस, ड्रागन ब्रेक डान्स, नाउँ तथा बच्चाको खेलौना, कोलम्बस, जादु लगायतको आकर्षण राखिएको महोत्सव स्थलमा मुख्य आकर्षणको रुपमा लन्डन ब्रिजको प्रतिकृति बनाइएको छ ।
महोत्सव स्थल प्रवेशका लागि सर्वसाधारणका लागि प्रवेश शुल्क १ सय रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ भने जेष्ठ नागरिकलाई परिचय पत्रका आधारमा निशुल्क प्रवेशको ब्यवस्था मिलाइएको बताइएको छ ।
भक्तपुर ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय क्षेत्र भएको र मेलाले यसको प्रचारप्रसारमा समेत सहयोग पुग्ने आयोजकको भनाइ छ ।







