भक्तपुरमा विद्यालय योगाभ्यास पाठ्यक्रम पूर्णता दिन बन्यो समिति, यसै वर्ष कार्यान्वयन हुने

भक्तपुर । देशकै सानो जिल्ला भक्तपुरले योग शिक्षाको क्षेत्रमा ठूलो योजना अघि सारेको छ । विद्यालयस्तरमै योगाभ्यास पाठ्यक्रम कार्यान्वयनमा ल्याउने भक्तपुर पहिलो जिल्ला बन्न लागेको हो ।

यसका लागि जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, जिल्ला आयुर्वेद कार्यालय, शिक्षक महासंघ र योग समन्वय समितिको संयुक्त प्रयासमा ९ सदस्यीय पाठ्यक्रम तयारी एवं कार्यान्वयन समिति बनेको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालको अध्यक्षतामा बसेको   विशेष भेलाले योग अभ्यास पाठ्यक्रम तयार गर्न ९ सदस्यीय समिति गठन गरेको हो ।

समितिको अध्यक्ष योग जिल्ला समन्वय समिति भक्तपुरका विजेन्द्र ध्वजु रहेका छन् भने सदस्य सचिव नवराज काफ्ले चयन भएका छन्।

समितिको अन्य सदस्यहरूमा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख कमला ज्ञवाली, जिल्ला आयुर्वेद कार्यालयका प्रमुख डा. नदन कडेंल, योग विशेषज्ञ डा क्षितिज बाराकोटी र डा. आनन्द गैरे त्यसैगरी शिक्षक महासंघ भक्तपुरका अध्यक्ष दधीराम गेलाल, पूर्व शिक्षा अधिकारी नयनसिंह धामी रहेका बताइएको छ 

प्रमुख जिल्ला अधिकारी अर्याल भने समितिको प्रमुख सल्लाहकारको रूपमा रहेका सदस्य सचिव नवराज काफ्लेले जानकारी गराए ।

समितिले केही महिनादेखिको प्रयास बाट योग गुरु बालमुकुन्द सुवालको संयोजकत्वमा तयार पारिएको प्रारम्भिक पाठ्यक्रमलाई संशोधन गरी अन्तिम रूप दिने कार्यभार पाएको काफ्लेले बताएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख कमला ज्ञवालीले शिक्षकहरूको आन्दोलनको विश्रामपछि सबै शिक्षकलाई अभिमुखीकरण गराई भक्तपुरका विद्यालयमा यो योगाभ्यास पाठ्यक्रम कार्यान्वयन गरिने जानकारी दिएकी छन् ।