चाँगुनारायणका सबै वडामा अग्नि नियन्त्रण अभ्यास प्रदर्शन र प्रशिक्षण

चाँगुनारायण नगरपालिकाले आफ्ना वडाहरुमा आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास प्रदर्शन एवं प्रशिक्षण कार्यक्रम शूरु गरेको छ ।

जुद्ध बारुणयन्त्र कार्यालय भक्तपुरको प्राविधिक सहयोग, नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको सहकार्य र वडास्तरीय विपद् व्यवस्थापन समितिको समन्वयमाकार्यक्रम शुरु भएको हो ।

सुक्खा मौसम तथा गर्मीका कारण समुदायमा दिनानुदिन आगलागीका घटनाहरु भइरहेको अवस्थामा आगलागी रोकथाम तथा न्यूनीकरणका लागि समुदायस्तरमा सचेतना अभिबृद्धिका लागि आगलागी सुरक्षा सम्बन्धि कार्यक्रम सञ्चालन गरिएको कुरा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले बताए ।

 सम्भावित विपद्को रोकथाम र जोखिम न्यूनीकरणका लागि नगरपालिकाले यस प्रकारको सचेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेको उनले जानकारी गराए ।

चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद हुँमेगाईले चाँगुनारायण नगरपालिकाले अघिल्लो वर्ष तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनालाई अद्यावधिक गरी मनसुनजन्य विपद्बाट नगरबासीलाई सुरक्षित बनाउन प्रभावकारी प्रतिकार्य योजना बनाई लागू गर्ने पनि योजनाबारे बताए ।

वडास्तरमा सञ्चालन भएको अभिमुखिकरण वडा नं ४ मा वडाध्यक्ष रोज बहादुर तामांग, वडा नं ५ मा वडाध्यक्ष जयन्द्र खड्का, वडा नं ७ मा वडाध्यक्ष श्यामकृष्ण नयाँजु श्रेष्ठ, वडा नं ८ मा का.वा वडाध्यक्ष अनिता परियार र वडा नं १ मा वडाध्यक्ष सिजन कार्कीको सभापतित्वमा सम्पन्न भएको विपद् व्यवस्थापान इकाई प्रमुख दिने थापाले जानकारी दिए  ।

अभिमुखिकरण र प्रदर्शन क्रमशः सबै वडाहरुमा सञ्चालन गरिने वडाध्यक्ष एवं विपद ब्यवस्थापन समितिका संयोजक सोम प्रधानले बताएका छन् ।