भक्तपुर । गाँस र बास खोज्दै सडकमा बेवारिसे जीवन बिताउन बाध्य बेसहारा सडक मानवको लागि स्थायी आश्रयस्थल बनाउने पवित्र उदेश्यले भक्तपुरको मध्यपुर थिमि-५ राधेराधेस्थित यातायात व्यवस्था कार्यालयसंगै प्राङ्गणमा श्रीमद् भागवत सप्ताह ज्ञान बिज्ञान महायज्ञ भईरहेको छ ।
वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल र जीवन विज्ञान विशेषज्ञ रमेश नेपाल लगायतले बिहीवार उद्घाटन गरेको महायज्ञमा कथा वाचिका सुमी मानवले दैनिक श्रीमद् भागवत कथा वाचन गरिरहेकी छन् । मानव कल्याण सामाजको आयोजनामा भईरहेको महायज्ञमा स्थानीय समाजसेवी र अभियन्ताहरु तनमनधनका साथ् लागिपरेका छन् । महायज्ञमा गरिने सम्पूर्ण दान मानव सेवामा प्रयोग हुने भएपछि धर्म र सेवामा आस्था एवं बिश्वास राख्नेहरु उत्साहपूर्वक खटिएका देखिन्छन ।
भक्तपुरको चाँगुनारायण-३ झौखेलस्थित एक टहराबाट ४१ जना बेवारिसे सडक मानवलाई आश्रय दिई पालन पोषण गर्दै आएको मानव कल्याण सामाजको आफ्नै व्यवस्थित बासस्थान बनाउन दान र भेटीको प्रयोग हुने महायज्ञ आयोजक मुल समारोह समितिका संयोजक गोपी न्यौपानेले जानकारी गराएका छन् । स्थानीय समाजसेवी न्यौपाने उदयपुर सिमेन्ट उद्योगका पूर्व अध्यक्ष पनि हुन् ।
अहिलेसम्म २ हजार बढी सडक मानवलाई उद्धार, व्यवस्थापन तथा परिवारमा पुर्नस्थापना गरिसकेको र भक्तपुरबाटै शुरु गरेर देशभर ५ जिल्लामा शाखा बिस्तार भएको मानव कल्याण समाजको आफ्नै व्यवस्थित आश्रयस्थल नहुनु दुखद भएकोले महायज्ञ मार्फत व्यवस्थित बासस्थान बनाउने लक्ष राखिएको आयोजक समितिका सचिव युवा समाजसेवी बेदप्रसाद खरेल बताउँछन् ।
शनिवार महायज्ञस्थल पुगेका बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले मानवताको लागि महायज्ञ भएकोमा सन्तोष व्यक्त गर्दै व्यक्तिगत तर्फबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ दान दिएका आयोजक समितिका कोषाध्यक्ष एवं राष्ट्रका लागि दुई घण्टा अभियानका उपाध्यक्ष नरेश रन्जितले बताएका छन् । त्यतिमात्र होइन, स्वास्थ्य मन्त्री थापाले सडक मानवको आश्रयस्थल बनाउन दान र भेटीबाट अपुग भएको रकम बागमती सरकारले व्यहोर्ने समेत आश्वासन दिएका छन् ।
महायज्ञ शुरु भएको तीन दिनमै बीस लाख भन्दा बढी दान रकम नगदै संकलित भैसकेको छ भने कतिपय दाताहरुले आफूले दान गर्ने रकम घोषणा गरेका छन् । महायज्ञमा दान अनिवार्य नभएको तर, उदेश्य थाहा पाउनेहरु दान गर्न आफैं उत्प्रेरित हुने गरेका आयोजकको दावी छ ।
महायज्ञमा कुनै व्यापारिक उदेश्य नरहेको र संकलित रकम पारदर्शी रुपमा सबैले थाहा पाउने गरी प्रयोग गर्न प्रतिवद्ध र विश्वासिला आयोजक भएकाले भक्तजनको भेटीको सही सदुपयोग हुने मध्यपुर थिमि नगरपालिकाकी पूर्व उपप्रमुख अन्जनादेवी मधिकर्मी बताउँछिन ।
नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका कोषाध्यक्षसमेत रहेका स्थानीय पत्रकार संजीप घिमिरे शुभचिन्तकले पनि २५ हजार ५ रुपैयाँ दान गरेका उल्लेख गर्दै सूर्यविनायक नगरपालिकाकी पूर्व उप प्रमुख जुना बस्नेतले महायज्ञ आस्था, बिश्वास र पारदर्शीताको पर्याय बनेको बताएकी छन् ।
महायज्ञमा प्रत्येक दिन श्रीमदभागवत कथा वाचन, भजन किर्तन हुने र साँझ आरती पछि धार्मिक नाटक, प्रहसन र नृत्यहरु प्रस्तुत हुँदै आएका छन् । अन्तिम दिन सामुहिक ब्रन्तबन्ध र गुन्युचोली लगायतका धार्मिक कार्य तय भएका आयोजकको भनाइ छ ।