भक्तपुरको निकोसेरास्थित अलाइभ मन्टेश्वरी स्कूलको अभिभावक दिवस एवं दीक्षान्त समारोह सम्पन्न

भक्तपुरको मध्यपुर थिमि-५ निकोसेरास्थित अलाइभ मन्टेश्वरी प्रिप्राइमरी स्कूलले आफ्नो ७ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह एकसाथ सम्पन्न गरेको छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको शिक्षा संकायका बिभागीय प्रमुख प्राडा शम्भुप्रसाद खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो । उनले दीक्षितहरुलाई प्रमाणपत्र प्रदान गरे भने विद्यालयका तर्फबाट विद्यार्थीका बुबाआमालाई आभार तथा हजुरबुबा हजुरआमालाई सम्मान समेत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्राडा खतिवडाले आजका साना बालबालिका भविष्यमा विश्वविद्यालयका विद्यार्थी र देशकै जनशक्तिको रुपमा बिकास हुने बताउँदै प्रारम्भिक शिक्षालाई अवमूल्यन गर्न नहुने बताए ।

घर बलियो बन्न जग बलियो बनाउनु परेजस्तै अलाइभ मन्टेश्वरी जस्ता प्रिस्कूलका कारण शिक्षाको जग बलियो बन्ने प्राडा खतिवडाले बिश्वास ब्यक्त गरे ।

आजको आधुनिक प्रविधियुक्त युगमा मन्टेश्वरी शिक्षा प्रणाली आवश्यक भैसकेको भन्दै उनले अबको शिक्षा बालबालिका मैत्री हुनुको बिकल्प नभएको बताए । उनले निकोसेरास्थित अलाइभ मन्टेश्वरी स्कूलको ब्यवस्थापन, वातावरण, शैक्षिक जनशक्ति र शिक्षणसिकाइ क्रियाकलाप प्रति सन्तोष ब्यक्त गरेका थिए ।

कार्यक्रममा संस्कृति विशेषज्ञ डा. निर्मला पोखरेलले बाबबालिकालाई शुरुबाटै सुसंस्कृत र नैतिकवान बनाउनुपर्नेमा जोड दिईन । उनले यसका लागि विद्यालयले पुर्याएको योगदानको प्रशंसा गरेकी थिइन् ।

कार्यक्रममा विद्यालयकी निर्देशक अनिला सिन्ताकलले आगामी दिनमा शिक्षणसिकाइलाई आधुनिक डिजिटल प्रविधिसँग जोड्दै जाने र बालबालिकाको चौतर्फी बिकासलाई केन्द्रमा राखि काम गर्ने बताइन् ।

उनले अभिभावकलाई आफ्ना नानीबाबुको सिकाइ र विद्यालयमा उनीहरूको बसाईबारे बुझ्न सजिलो होस् भन्ने उदेश्यले समय अनुकुल हुनेगरी कम्तिमा एकदिन आमन्त्रित सहयोगी शिक्षकको रुपमा कक्षा कोठामै रहने वातावरण बनाउने योजनाबारे पनि बताइन् ।

त्यस्तै मन्टेश्वरी शिक्षाका प्रशिक्षकसमेत रहेका तुल्सीहरी प्रजापतिले नानाीबाबुहरुको प्रारम्भिक शिक्षामा मन्टेश्वरीको योगदानमा अभिभावकको भूमिका र घरको बालमैत्री वातावरण पनि आवश्यक रहेको बिचार व्यक्त गरे ।

विद्यालयका संस्थापक राकेश सुवालको अध्यक्षतामा मध्यपुर थिमिको थिमि बैंक्वेटमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन प्रविका सिन्ताकलले गरेकी थिइन् ।

सो अवसरमा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका कोषाध्यक्ष संजीप घिमिरे शुभचिन्तक, प्रेस सेन्टर नेपाल मध्यपुर थिमिका अध्यक्ष दीपक कायस्थ लगायतको समेत आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य, सांस्कृतिक झाँकी, प्रहसन र नाटकको समेत मञ्जन गरेर अभिभावक तथा अतिथिहरुलाई मोहित बनाएका थिए । कार्यक्रममा विद्यार्थीहरुले तेक्वान्दो अन्तर्गत आत्मरक्षा सम्वन्धी कलासमेत प्रस्तुत गरेका थिए ।