काठमाडौ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रको मर्म अनुसार काम गरे सहकार्य हुनसक्ने बताए ।
प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका प्रचण्डले गणतन्त्रको मर्म अनुसार ओली सरकार जनतामा फर्कनुपर्ने सर्त राखे ।
प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको शनिबार काठमाडौ बैंक्वेटमा उद्घाटन गर्दै उनले भ्रस्टाचारको फाइल बन्द गर्ने, दलाल र बिचौलियाको रिमोटमा सरकार चलाउने गरेर गणतन्त्रलाई कमजोर नगराउन आग्रह गरे । यसरी गणतन्त्रवादी भन्दैमा सहयोग र सहकार्य गर्न नसकिने उनको भनाइ छ ।
आफू प्रधानमन्त्री भैसकेको भएर सरकारले गलत मनसायले गरेका नियुक्ति र कामकार्वाहीबारे थाहा पाइरहेको बताउदै उनले ती सबै त्यागेर जनता तर्फ फर्कीए सरकारलाई सहयोग गर्न सकिने स्पष्ट पारे ।
अध्यक्ष प्रचण्डले पूर्वराजाका समर्थकले शुक्रबार गरेको तोडफोड, लुटपाट र आगजनीका घटना कुनै हालतमा क्षम्य नभएको पनि बताएका छन् । त्यसबाट भएको जनधनको क्षतिप्रति गम्भीर भएर कडा कारबाही गर्न उनले सरकारको ध्यानाकर्षण समेत गराए । यसमा सरकारलाई प्रमुख प्रतिपक्षी दलको पूर्ण साथ र समर्थन रहने अध्यक्ष प्रचण्डले स्पष्ट पारे ।
“गणतन्त्रवादीले निरङ्कुशतावादी र आपराधिक मनस्थितिका मान्छेलाई कडा कारबाही गरेर जनतहितमा अगाडि बढ्ने यो सही समय हो”, अध्यक्ष प्रचण्डले भने, “सरकारले यो बेलामा कडा कदम चाल्यो भने हाम्रो समर्थन हुन्छ ।”
स्वतन्त्र प्रेसमाथिको आक्रमणले राजावादीको रुप उदाङ्गो भएको भन्दै उनले निरङ्कुश प्रवृत्ति रोक्न प्रेस सेन्टरसहित सम्पूर्ण सञ्चार क्षेत्र एकतावद्ध भएर भूमिका खेल्नुपर्नेमा जोड दिए ।
देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्न सञ्चार क्षेत्रले पुर्याएको योगदानको प्रशंसा गर्दै उनले यो ब्यवस्थालाई सुदृढ र बलियो बनाउन प्रेसको अझ सशक्त भूमिका हुने अपेक्षा गरे ।
सो अवसरमा अध्यक्ष प्रचण्डले प्रत्येक प्रदेशबाट एक-एक उत्कृष्ट पत्रकार तथा सेन्टरको एक उत्कृष्ट प्रदेश र जिल्ला शाखालाई सम्मान समेत गरेका थिए ।
कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रेस हेर्ने फ्याक्सन ईन्चार्ज अग्निप्रसाद सापकोटा, पार्टीका उपमहासचिव जनार्दन शर्मा प्रभाकर, प्रेस सेन्टरका संस्थापक अध्यक्ष महेश्वर दाहाल लगायतले जनयुद्धको जगमा उभिएको प्रेस सेन्टरमा आवद्ध पत्रकारले जनताको पक्षमा पत्रकारिता गरेर सो बिरासत अझ उचो बनाउने बिश्वास ब्यक्त गरे ।
प्रेस सेन्टर नेपालको पाचौं महाधिवेशन उद्घाटन समारोहमा नेपाल पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन , प्रेस चौतारी नेपाल, समाजवादी प्रेस संगठन लगायत पत्रकारका सङ्घसङ्गठनका अध्यक्ष तथा प्रतिनिधिले गणतन्त्रको रक्षा र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता प्रकट गरेका थिए ।
अध्यक्ष बिष्णु सापकोटा जुगलको अध्यक्षता सम्पन्न उद्घाटन सत्र महासचिव सन्तोष पौडेलले संचालन गरेका थिए भने वरिष्ठ उपाध्यक्ष कमल गिरीले स्वागत मन्तव्य राखेका थिए ।