राजावादीले आगो लगाएको घरमा जीउँदै जले पत्रकार, महासंघको स्थापना दिवस बिरोध सभामा परिणत

राजावादीहरूको आगजनीमा परी तीनकुनेमा पत्रकार सुरेश रजकको ज्यान गएको छ। 

राजसंस्था पुन:स्थापनाको आन्दोलनका क्रममा उनको ज्यान गएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको हो । 

तीनकुनेको घरबाट उनले एभिन्यूज टिभीका लागि लाइभ गरिरहेका थिए। त्यसक्रममा राजावादीहरूले घरमा आगजनी गर्दा उनको जलेर ज्यान गएको प्रहरीको भनाइ छ ।

उनी सो आगजनीमा परेको थाहा भएपछि एभिन्युज टेलिभिजनका सञ्चालक भाष्कर राजकर्णिकारले प्रहरी तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेका थिए। टेलिभिजनले भने प्रहरी प्रशासनले उद्धरको पर्याप्त पहल नगरेको आरोप लगाएको छ ।

आगजनी हुनु अघि फुटेको घरबाट क्यामेरा तेर्साएर उनी प्रत्यक्ष प्रशारणमा जोडिएका थिए।

यसैबीच बदलिएको परिस्थितिका कारण नेपाल पत्रकार महासंघले भोलि मनाउने तयारी गरेको ७० औं स्थापना दिवसका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ ।

स्थापना दिवसलाई पत्रकार ´हत्या´ र संचार गृह तथा संचारकर्मीमाथिकाे हमला विरूद्द अान्दाेलनका रूपमा शाेक र विराेध सभाकाे रूपमा मनाउने जानकारी महासचिव रामप्रसाद दाहालले जानकारी दिएका छन् ।

भोलि बिहान चैत्र १६ गते शनिबार बिहान ८ बजे माइतीघर मण्डलामा भेला भएर पत्रकारकाे `हत्या´ र सञ्चारमाध्यमाथि भएको ज्यादतीका विरुद्धमा विरोधमा सभा गर्ने उनले बताए ।

प्रदर्सनकारीले सञ्चार सस्था कान्तिपुर र अन्नपूर्ण पोस्टको कार्यलय र हिमालय टिभीको सवारी साधनमा पनि आक्रमण गरेका थिए ।