वरिष्ठ अधिवक्ता थापाले पत्रकारमाथि दुर्ब्यवहार गरेकोप्रति पत्रकार महासंघ उपत्यकाको आपत्ति

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले काठमाडौंको आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) पार्टीको कार्यालय बाहिर फोटो खिचिरहेका पत्रकार उमेश कार्कीमाथि सार्वजनिक रूपमा अभद्र व्यवहार गरेपछि नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले कडा आपत्ति जनाएको छ।

महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “सार्वजनिक स्थलमा सार्वजनिक व्यक्तिको व्यवहार सभ्य र संयमित हुन अत्यन्त आवश्यक हुन्छ। तर, वरिष्ठ अधिवक्ताबाट सार्वजनिक र व्यावसायिक मर्यादा विपरीतको व्यवहार देखिनु दुःखद र अस्वीकार्य छ।”

विज्ञप्तिमा पत्रकारमाथिको दुर्व्यवहारलाई प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपको रूपमा लिइएको छ। महासंघले घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै सबै पक्षलाई यस्ता कार्यहरूबाट टाढा रहन, प्रेसप्रति सम्मानजनक दृष्टिकोण राख्न र अभिव्यक्तिको स्वतन्त्रताको मर्म बुझ्न आग्रह गरेको छ।

महासंघका महासचिव अशिष गुरागाईंले हस्ताक्षर गरेको विज्ञप्तिमा भविष्यमा पद सुहाउँदो आचरण गर्न, प्रेस स्वतन्त्रतामाथिको सम्मान गर्न र यस्ता घटनाहरू दोहोरिन नदिन सचेत गराएको छ।