
काठमाडौ । नेपाल अमेरिका पत्रकार संघ (नेजा) का नवनिर्वाचित अध्यक्ष सुरज भण्डारीले अमेरिकी गैरआवासीय नेपाली पत्रकारहरु नेपालमा सञ्चार माध्यम सञ्चालन गर्न इच्छुक रहेका खुलासा गरेका छन् ।
“नेपालमा सञ्चार माध्यम सञ्चालन गर्न इच्छुक छौं” शुक्रबार नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका पदाधिकारीसंग छलफल गर्दै अध्यक्ष भण्डारीले भने, “लामो समय नेपालमा पत्रकारिता गरेर अमेरिकामा बसिरहेकाहरुको पत्रकारिताप्रतिको प्यासन नेपाली सञ्चार क्षेत्रका लागि लगानी भित्राउने अवसर बन्नसक्छ ।”
आफूहरूले सञ्चार माध्यम दर्ताका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पहल गरिरहेको र सोको कानुनी सहजीकरणका लागि आवश्यक सहयोग गर्न उनले महासंघलाई आग्रह समेत गरे ।
यसले नेपालमा रहेका सयौं नेपाली पत्रकारलाई रोजगारीको अवसर सृजना गर्ने अध्यक्ष भण्डारीको भनाइ छ । “हाम्रो उदेश्य नेपालबाट कमाउने भन्ने होइन, उल्टै हामी यहाँ सयौं रोजगारीको अवसर सृजना गर्न सक्छौ ।” अध्यक्ष भण्डारीले भने ।
सो अवसरमा अध्यक्ष भण्डारीले नेजा अमेरिका निवासी २ सय ३ जना नेपाली पत्रकारहरुको संस्था रहेको र यसले नेपाल पत्रकार महासंघसंग सहकार्य गरी नेपाली पत्रकारिताको विकासमा योगदान गरिरहेको पनि बताए ।
कार्यक्रममा उपत्यका प्रदेश समितिका अध्यक्ष टेनिस रोकाले अमेरिकामा रहेर पनि नेपाली पत्रकारितालाई माया गरिरहेको नेजासंग आगामी दिनमा उपत्यका प्रदेश पनि संस्थागत सहकार्य गर्दै अघि बढ्ने बताएका थिए ।
शुक्रबार उपत्यका प्रदेशले नेजाका नवनिर्वाचित अध्यक्ष भण्डारीलाई स्वागत एवं बधाई कार्यक्रम आयोजना गरेको थियो । अघिल्लो कार्यकाल पनि मतदानबाट अध्यक्ष निर्वाचित भण्डारी यस् पटक पनि मतदान प्रक्रियाबाट नै अध्यक्ष दोहोरिएका हुन् ।
नेपालमा दशकौं लामो समय पत्रकारिता गरेर अमेरिका पुगेका नेपाली पत्रकारहरु नेजामा आवद्ध रहेका छन् ।








