काठमाडौँ । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपाललाई हदवन्दी भन्दा बढी जग्गा छुट दिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दायर गरिएको मुद्दा सम्बन्धी समाचारप्रति पूर्वमन्त्री प्रेमबहादुर सिंहले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
उनले प्रेस विज्ञप्ति जारी गर्दै आफूले कुनै गल्ती नगरेको स्पष्ट पारेका छन् । माधव नेपाल नेतृत्वको मन्त्रीपरिषदमा सिंह कानुन,न्याय तथा संसदीय मामिला मन्त्री थिए । सिंह सादा जीवनशैलीका नेता मानिन्छन् ।
प्रेस विज्ञप्तिमा सिंहले स्पष्ट पारेका छन् कि पतञ्जलीलाई कुनै सार्वजनिक वा सरकारी जग्गा नदिई, व्यक्तिको नाममा रहेको जग्गा खरिद गरी त्यसको हदवन्दी छुट दिने निर्णय मन्त्रिपरिषद्को विधेयक समितिबाट स्पष्ट शर्तसहित गरिएको हो।
उनले भनेका छन्, “जुन प्रयोजनका लागि जग्गा खरिद गरिएको हो, त्यसै प्रयोजनमा मात्र प्रयोग गर्ने र खरिद गरिएको जग्गा बिक्री गर्न नपाउने शर्तसहित छुट दिइएको हो।”
सिंहले अन्य उदाहरण प्रस्तुत गर्दै गिरिवन्धु टी–स्टेट लगायत अन्य धेरै संस्थालाई विना शर्त हदवन्दी छुट दिइएको स्मरण गराएका छन्। साथै उनले सर्वोच्च अदालतको संवैधानिक इजलासबाट जारी आदेश उद्धृत गर्दै भनेका छन्, “हदवन्दी छुट दिइएको जग्गा तोकिएको प्रयोजनबाहेक अन्यत्र प्रयोग गर्न मिल्दैन, नत यसको कारोबार गर्न पाइन्छ।”
तत्कालीन मन्त्री प्रेमबहादुर सिंहले विज्ञप्तिमा आफू निर्दोष भएको दाबी गर्दै भनेका छन्, “मैले कुनै गल्ती गरेको छैन। म यसको दृढतापूर्वक प्रतिवाद गर्नेछु।” साथै उनले यो विषय न्यायालयमा प्रक्रियामा रहेकाले आफू पूर्णरूपमा न्याय प्राप्त गर्नेमा विश्वस्त रहेको पनि बताएका छन्।
उनले मुद्दा बाहिरका अन्य चलखेल र ‘पर्दा पछाडिका खेलहरू’ समयक्रममा खुल्ने दाबी पनि गरेका छन्।