भक्तपुर । विश्व वातावरण दिवसको अवसरमा भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाको संयुक्त आयोजनामा चाँगुनारायण नपा–६ स्थित खानेपानीको मुख्य श्रोत मुहानपोखरीमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
खानेपानीका मुहानहरू सुक्दै जानु र प्रदूषण बढ्नुको मुख्य कारण मानवीय गतिविधि रहेको भन्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खानेपानी आपूर्तिमा समस्या तीव्र बन्दै गएको बताए।
उनले वन विनासका कारण पनि मुहानहरूमा क्षति पुगेको उल्लेख गर्दै मुहानपोखरीलाई संरक्षित क्षेत्रको रूपमा विकास गर्न आवश्यक रहेको बताए।
भक्तपुर नपा–९ का वडाध्यक्ष तथा वातावरण समिति संयोजक रविन्द्र ज्याख्वले मुहानपोखरी भक्तपुर र चाँगुनारायण नगरपालिकाबीचको समन्वयमा संरक्षण हुँदै आएको जानकारी दिए।
उनले प्रदूषण न्यूनीकरणका लागि ठोस कदम चाल्नुपर्नेमा जोड दिए ।
चाँगुनारायण नपा–६ का वडाध्यक्ष धनबहादुर तामाङले अवाञ्छित गतिविधि रोक्न र मुहान संरक्षण गर्न तारबार लगाउनुपर्ने आवश्यकता औंल्याए।
काठमाडौं उपत्यका खानेपानी संस्था लि.(केयूकेएल) भक्तपुरका कार्यालय प्रमुख अनिलकुमार त्रिखत्रीले संरक्षण अभियानमा स्थानीयको सहभागिता प्रशंसनीय रहेको बताए ।
त्यस्तै वातावरण समिति सदस्य मन्जुमैंया लाखाले नगरपालिकाले वातावरण संरक्षणको क्षेत्रमा गरिरहेको कामबारे जानकारी गराइन् ।

सरसफाइ कार्यक्रममा दुई नगरपालिकाको जनप्रतिनिधि, कर्मचारी, स्काउट, नेपाल प्रहरी र स्थानीयबासीको सहभागिता रहेको थियो।