काठमाडौ । पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयको प्रतिरोध गरिने प्रतिक्रिया दिएका छन् ।
यो निर्णय दुई तिहाई बहुमतको दम्भमा गरिएको उनको प्रतिक्रिया रहेको छ । निर्णयको घोर निन्दा गर्दै यसको प्रतिरोध गरिने अध्यक्ष प्रचण्डले प्रष्ट पारे@@ ।
“देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा उर्जा विज्ञका रुपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।” उनले भने ,”हाम्रो नेतृत्वको सरकारको योजना अनि उहाँको विज्ञता र क्षमताबाट उज्यालो नेपाल निर्माण गर्न सफलता मिलेको जन–जनमा जानकारी छ।”
प्राधिकरणको बाकी बक्यौता जनताको पैसा हो उठाउनुपर्छ भनेकै कारणले कुलमान घिसिङलाई सरकारले लामो समयदेखि पदबाट हटाउने षडयन्त्र गरिरहेको र सोही उद्देश्यका साथ पटक–पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको अध्यक्ष प्रचण्डको आरोप छ ।
आज सरकारले मन्त्रीपरिषद् बैठकबाट कुलमानलाई बर्खास्त नै गरेको भन्ने खबर संचारमाध्यमबाट आफूले थाहा पाएको प्रचण्डले खुलासा गरेका छन् ।
“आशा गरौं यो खबर असत्य सावित होस्, यदि सत्य रहेछ भने सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ ।” उनले भने ।