सम्पादक बस्नेतको सुझाव – ओली वंश कंस नबनोस्

काठमाडौं । देशको वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै पत्रकार माधव बस्नेतले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीमाथि कडा प्रहार गरेका छन् । देश अहिले खरानीको भुङ्ग्रोमाथि उभिएको भन्दै बस्नेतले त्यसको प्रमुख कारण ओलीको स्वार्थ, अभिमान र अहंकार भएको बताए ।

उनले स्पष्ट उल्लेख लेखेका छन्, “पूर्वाग्रह होइन, तर ओली र ओलीजस्ता ‘कुलङ्गार’ नेताहरूका कारण नै देश संकटमा परेको हो ।” उनले विगतदेखि नै यस्तो अवस्था आउँदैछ भनेर आफूले चेतावनी दिँदै आएको दाबी पनि गरेका छन् ।

नेपालमुहारका सम्पादकसमेत रहेका बस्नेतले नेपाल अझै अध्याँरो सुरुङतिर पसिरहेको उल्लेख गर्दै संकट टरेको नभइ बरु पहरो बनेर सामुन्नेमा खडा भएको प्रष्ट पारेका छन् ।

सरकारका नेतृत्वमा आएकी शुशीला कार्कीले पनि अहिले निर्णयमा अस्थिरता र मनमौजीपन प्रदर्शन गरेको भन्दै उनले असन्तुष्टि जनाए ।

केपी शर्मा ओली ११ वर्षदेखि पार्टी अध्यक्ष र चार पटक प्रधानमन्त्री भएको र अब उनले दिनसक्ने निराशा बाहेक बाकी नरहेको दावी गर्दै पत्रकार बस्नेतले ओलीकै आत्मकेन्द्रीत र शक्ति मोह नै अहिले देशले भोगिरहेको आर्थिक, सामाजिक,राजनीतिक र नैतिक पतनको कारण भएको जिकिर गरे।

“ओली फेरि प्रधानमन्त्री बन्ने सपना देख्दैछन् । तर एकै व्यक्ति हिटलर र इदि अमिनको बाटोमा हिँड्दा मुलुक कहाँ पुग्छ, त्यो इतिहासले देखाइसकेको छ ।” उनले टिप्पणी गरे ।

ओली वंश कंस नबनोस्

बस्नेतले ओलीलाई चेतावनी दिंदै भनेका छन्, “ओलीज्यू, हजुरको हृदयमा जे छ, त्यो हजुरलाई मात्र थाहा होला । तर बाहिर हजुरको छवि अहंकारी राक्षसकै रूपमा स्थापित हुँदैछ । कृपया, यो देशको भविष्यका लागि भए पनि शान्त र धैर्यवान बन्नुहोस्।”

उनले थपे, “नत्र, हजुरकै कारण सम्पूर्ण ओली वंश नै कंसमा रुपान्तरित हुने खतरा बढ्दै गएको छ ।”

बस्नेतले हिटलर र इदि अमिनलाई नकारात्मक शक्तिको प्रतीक र नेल्सन मण्डेला तथा होचिमिन्हलाई सकारात्मक नेतृत्वको आदर्शका रूपमा उल्लेख गर्दै नेपाली नेतृत्वले कुन बाटो रोज्ने हो, त्यसैबाट मुलुकको भविष्य तय हुने बताए।

बस्नेतको टिप्पणी केवल राजनीतिक आक्रोश वा, चेतावनी होइन । सुझाव, सुभेक्षा र आम अपेक्षा पनि हो । नेतृत्वले पुनः आत्मकेन्द्रीत र सत्ता मोहको खेलमा फस्ने हो र राजनीतिक संकटका बाबजुद नचेत्ने हो भने देश झन भड्खालोमा जाने खतरा कायमै रहन्छ ।