काठमाडौं। क्रान्ति गर्ने भन्दै प्रचण्डसंग छुट्टिएर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको नेतृत्व गरिरहेक मोहन वैद्य किरणले नेतृत्व हस्तान्तरण गरेका छन् । केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा उनले नेतृत्व हस्तान्तरण गरे ।
बैठकमा महासचिव मोहन वैद्य ‘किरण’ले स्वास्थ्य कारण देखाएर दिएको राजीनामा स्वीकृत गर्दै कार्यवाहक महासचिव सीपी गजुरेल ‘गौरव’लाई नयाँ महासचिवको रूपमा चयन गरेको एक सहभागीले जानकारी गराए ।
बैठकको सुरुवातमै वैद्यले आफ्नो राजीनामा पत्र वाचन गर्दै स्वास्थ्य अवस्था कमजोर भएकाले नेतृत्व नयाँ पुस्ताले सम्हाल्नुपर्ने आवश्यकता औंल्याएका थिए।
उनले महासचिव पदबाट मुक्त गरिदिन आग्रह गरे, जसलाई बैठकले सर्वसम्मत रूपमा स्वीकृत गर्यो।
गौरवको अध्यक्षता र स्थायी समिति सदस्य सुदर्शनको सञ्चालनमा असोज २९ देखि कात्तिक १ गतेसम्म बसेको बैठकले पार्टीको राजनीतिक प्रतिवेदनमा विस्तृत छलफल गरी प्राप्त सुझावहरू समेटेर परिमार्जनसहित पारित गर्यो।
बैठकले जेन–जेड आन्दोलनपछि बदलिँदो राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिको समीक्षा गर्दै देशभक्त, गणतन्त्रवादी, जनवादी र वामपन्थी शक्तिहरूबीच संयुक्त मोर्चा निर्माणको पहल गर्ने निर्णय गर्यो। साथै, स्वाधीन संयुक्त सरकार गठनको दिशामा व्यापक जनसंघर्ष सञ्चालन गर्ने नीति अघि सारिएको छ।
महासचिव गौरवले बैठकमा पारित भएका थप निर्णयहरू चाँडै आधिकारिक वक्तव्यमार्फत् सार्वजनिक गरिने जानकारी दिएका छन्।







