ललितपुर । पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले राष्ट्र र राष्ट्रियतामाथि संकट परेको उल्लेख गर्दै पार्टीगत हीत र पार्टीभित्रका गुटउपगुटबाट माथि उठेर एकजुट हुनुपर्ने स्पष्ट पारेका छन् ।
श्रेष्ठले आइतबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै सबै सचेत नागरिकले सोचबिचार गर्दै दलभन्दा माथि उठेर राष्ट्रिय एकताका प्रदर्शन गर्नुपर्ने स्पष्ट पारेका हुन् ।
सोको लागि नेपाली कांग्रेसको नेतृत्वले पहल गर्नुपर्ने उनको सुझाव छ । उनले संघीयता कार्यान्वयन, शान्ति प्रक्रिया, र तिनै तहका निर्वाचनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु नेपाली कांग्रेसको गौरवमय इतिहास हो भन्दै जेन जेड आन्दोलनमा भएको स्वार्थ समूहको घुसपैठले अस्तित्व नै संकटमा पार्ने संकेतहरू देखापरेको बताए ।
“जटिल र विषम परिस्थिति छ, जेन जेडको नाममा भएको आन्दोलनले त्रास पैदा गरेको छ।” उनले भने ।
आन्दोलनले निर्माण गरेको सरकारले फागुन २१ गते चुनाव हुन्छ भन्ने वातावरण तयार नगरेको उनको दावी छ । मूल स्वरुपमा युवा पुस्ताको असन्तोष, बेरोजगारी, भष्ट्राचारप्रति आक्रोश, र राजनीतिक संस्थाप्रति अविश्वास समटिएको छ, उनीहरूका जायज मागहरुलाई सम्बोधन गर्न आवश्यक छ, तर आन्दोलनमा हिंसा, घृणा र निषेधको राजनीति मिसिँदा लोकतन्त्रको मर्म नै खण्डित हुने खतरा रहेको उनको भनाइ छ,
राजनीतिक दलका केही व्यक्तिहरूका व्यवहार, पारदर्शिता अभाव, र जवाफदेहिताको कमीले आम जनतामा दलप्रति अविश्वासको गहिरो ‘न्यारेटिभ’ बनाएको छ।” उनले भने ।
“पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि ठूलो क्षती १९९० को भूकम्पबाट भएको थियो, त्यसपछि भदौ २४ गतेको क्षति भएको छ, जेन जेड आन्दोलनमा हिंसा, घृणा र निषेधको राजनीति मिसिँदा लोकतान्त्र नै खतरामा पर्ने अवस्था छ।” उनले भने।
उनले शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गरेपनि अरुले त्यस्तो अग्रसरता देखाउन सकेनन् भन्दै संवाद र समन्वयको माध्यमबाट विश्वासको वातावरण तयार गर्नुपर्नेमा जोड दिए ।
“विगतका आठ राजनीतिक दल मात्रै हैन, अब नयाँ राजनीतिक दलहरूलाई पनि संवादमा समावेश गरेर अगाडि बढ्नुपर्छ, सुधार गरेर अगाडि बढ्नुपर्छ, तर अग्रजहरुलाई निशेध गरेर पनि राजनीति अगाडि बढ्न सक्दैन, उद्योगपतिहरुलाई कसरी समेट्ने भन्नेमा ध्यान दिनुपर्ने छ, सबैसँग समन्वय गरेर अगाडि बढ्नुपर्छ।” उनले भने ।
“अहिले नयाँ नेतृत्वले जन्माउने अवसर पनि हो, हामीले विगतका कमजोरीबाट सिक्नुपर्छ।” उनले भने ।
उनले वर्तमान समस्याको राजनीतिक दलहरू भित्रवाटै समाधान गर्नुपर्छ भन्दै यसमा परम्परागत शक्ति र नयाँ शक्तिलाई निषेधको राजनीति त्यागेर सहकार्य सहअस्तित्व र संवादमार्फत अगाडि बढ्नपर्नेमा जोड दिएका छन् ।







