भक्तपुर । प्रतिनिधि सभाका पूर्व सभामुख एवं नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर राजनीतिको मैदानमा उत्रन सुझाव दिएका छन् । संविधान बिपरित चलखेल गरे सह्य नहुने उनको चेतावनी छ ।
सोमबार नेपाल बुद्धिजीवी संगठनको भक्तपुर जिल्ला सम्मेलनलाई थिमिमा सम्बोधन गर्दै सापकोटाले पूर्व राजा गणतन्त्र विरुद्ध गतिविधि गर्न थाले नागार्जुन दरवारबाट पनि लखेटिने चेतावनी दिए ।
“नेपाली जनता संयमित भएकोले त्यतिबेला नागार्जुनमा ठाँउ पाएको हेक्का होस, चुरीफुरी गरे नागार्जुनबाट पनि जनताले लखेट्ने छन् ।” उनले भने ।
संघीय लोकतान्त्रिक गणतन्त्रबारे प्रतिक्रियाबादीले भ्रम फैलाइरहेका र पुरानै ठिक भन्ने भाष्य बनाइरहेका बताउँदै नेकपा माओवादी केन्द्रका प्रवक्ता समेत रहेका सापकोटाले त्यो भ्रम बुद्धिजीवीहरुले तोड्नपर्नेमा जोड दिए ।
उनले देशको अस्तित्व रहन नदिने योजनाले माओवादी केन्द्रमाथि र वर्तमान ब्यवस्था माथि हमला गर्न खोजिएको तर्फ नेपाली जनता सचेत रहनुपर्ने बताए । माओवादी पार्टी नभई आन्दोलन भएको भन्दै उनले देश र जनताका बिरुद्ध हुने सबैखाले षडयन्त्र विफल बताँउदै परिवर्तन तथा देश र जनताको रक्षा गर्ने दावी गरे ।
प्रवक्ता सापकोटाले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक समावेशी निर्वाचन प्रणालीमार्फत संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ उन्नत बनाउँदै समाजबादमा पुग्नुपर्ने आवश्यकता औल्याएका छन् ।
“समाजबाद नै जनताको वास्तविक शासनब्यवस्था हो, जहाँ सबैको समानता र न्याय सम्भव छ ।” उनले भने, “हाम्रो लक्ष यथास्थितिमा रहने होइन, समाजवादमा पुग्ने हो ।”
सो अवसरमा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यहरु दिलिप प्रजापति, देवेन्द्र श्रेष्ठ, डिपी ढकाल, प्रतिमा श्रेष्ठ र नेपाल बुद्धिजीवी संगठनका अध्यक्ष कृष्ण केसी लगायतले वर्तमान ब्यवस्थामा बुद्धिजीवीको भूमिका विषयक प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य भुवनकेशरी श्रेष्ठ, मध्यपुर थिमिका उपप्रमुख बिजय कृष्ण श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
थिमि बैंक्वेटमा सम्पन्न अधिवेशनको बन्द सत्रले डा श्याम शरण श्रेष्ठको अध्यक्षतामा ५१ सदस्यीय भक्तपुर जिल्ला कार्यसमिति निर्वाचित गरेको माओवादी केन्द्रका जिल्ला संयोजक सुनिल बासुले बताए ।