भक्तपुरबाट नडुक्रन पूर्वप्रधानमन्त्री ओलीलाई गृहमन्त्री अर्यालको चेतावनी

भक्तपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले देशमा शान्ति र सद्भाव भड्काउने प्रयास ‘अपदस्त भएका’ राजनीतिक पात्रहरुबाट भइरहेको आरोप लगाएका छन् ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरको निरीक्षणका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ इङ्कित गर्दै भने “अपदस्त भएकाकै कुकर्मले विद्रोह भएको हो, शान्तिप्रिय जिल्ला भक्तपुरमा  बसेर नडुक्रनु र हामीलाई हाँक नदिनु।” 

सरकार शान्ति सुरक्षा सुनिश्चित गर्न प्रतिवद्ध रहेको र त्यसका लागि जस्तो सुकै कदम उठाउन तयार रहेको उनले चेतावनी समेत दिएका छन् ।

केही समय अघि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको गुण्डुबाट गृहमन्त्रीलाई नचम्कन चेतावनी दिएका थिए । बिहीबार भक्तपुर आएर उनले त्यसको प्रत्युत्तर दिएका उनी निकट श्रोतले बताएको छ । श्रोतका अनुसार गृहमन्त्री अर्याल एक घण्टा मात्र भएपनि पूर्वप्रधानमन्त्री ओलीलाई प्रहरी नियन्त्रणमा लिन र मुद्दा चलाउन चाहन्छन् ।

गृहमन्त्री अर्यालले भक्तपुरको शान्त वातावरणको प्रशंसा गर्दै  अस्थिरता ल्याउने गतिविधिबाट सचेत रहन समेर जिल्लाबासीलाई आग्रह गरेका छन् ।

सरकार फागुन २१ मा तोकिएको निर्वाचन निष्पक्ष र निर्धारित मितिमै सम्पन्न गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्दै गृहमन्त्री अर्यालले सरोकारवालाहरूलाई संवाद र सहयोगका लागि आह्वान समेत गरे ।

“निर्वाचन रोक्ने प्रयासमा केही तत्वहरू लागिपरेका छन्, तर सरकारले संवाद र सहकार्यको माध्यमबाट निर्वाचन सफल बनाउन प्रयासरत छ।” उनले भने ।

अनुगमनमा गृहमन्त्री अर्यालसंग गृह सचिव रामेश्वर दङ्गाल समेत सहभागी रहेका थिए । दङ्गाल भक्तपुर निवासी हुन् ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले जेन-जी आन्दोलनको क्रममा भदौ २४ गतेको आगजनी र तोडफोडबाट जिल्ला प्रशासन कार्यालय लगायत भक्तपुरमा भएको क्षतिबारे अवगत गराए ।

उनले नेपाल मजदुर किसान पार्टीको कारण भक्तपुरमा बढी क्षति हुन नपाएको रिपोर्टिङ गरेका थिए ।