
सप्तरी । सप्तरीको खडक नगरपालिकास्थित इलाका प्रहरी कार्यालय कडरबोनाले विनारिश्वत सडक दुर्घटनाको रिपोर्ट समेत दिन नमानेको खुलासा भएको छ ।
इलाका प्रहरी कार्यालय कडरबोनामा प्रहरी निरीक्षक गजेन्द्र राय इन्चार्ज रहेका छन् । घुस नदिँदा कार्यालयले करिब तीन महिनादेखि सडक दुर्घटनासम्बन्धी निवेदन अड्काएर राखेको एक पीडितले जानकारी गराएका हुन्।
“फाइल तयार छ तर, विना पैसा हाकिमले साइन गर्दैनन् भनेपछि म निरिह भएँ,” नाम नखुलाउने सर्तमा उनले भने ।
घटनाको पृष्ठभूमि
पीडितका अनुसार गत साउन २७ गते राति ९ बजेतिर खरचुहिया बजारमा सडकमा गिट्टी थुपारिएको कारण मोटरसाइकल दुर्घटना भएको थियो।
“अँध्यारोमा लडेपछि ड्युटीमा रहेका प्रहरीले उठाएर सहयोग गरे, कागजात हेरे र छोडिदिए,” उनले सुनाए।
दुई जना सवार उनीहरू लहान अस्पतालमा उपचारपछि घर फर्किए। उनीहरूले १५ दिनपछि विमा रकम दाबीका लागि प्रहरी रिपोर्ट माग्दै निवेदन दिएका थिए।
तर, पटकपटक कार्यालय धाए पनि अहिलेसम्म रिपोर्ट नपाएको पीडितको गुनासो छ।
“पाँच पटक गएँ, ‘गरिदिन्छु’ भन्छन्, तर गर्दैनन् । अन्तिममा एक प्रहरीले लाचारी व्यक्त गर्दै भने ‘विना पैसा हाकिमले साइन गर्दैनन्, मैले के गर्ने?।’ पीडितले गुनासो गरे ।
आफूले औषधिउपचारमै २५ हजार खर्च गरिसकेको जानकारी गराउँदै उनले भने, “विमाबाट १०–१२ हजार आउँला, त्यसमा रिश्वत कसरी दिउँ?”
घुस नदिए काम नहुने
पीडितका अनुसार मुद्दा फाँटका एक कर्मचारीले स्पष्ट भनेका थिए, “फाइल तयार छ, तर विना पैसा हाकिम साइन गर्दैनन्।” उनले के-कति रकम भन्ने नखुलाएका र आफूले पनि दिन नचाहेको पीडितले जनाएका छन् ।
आफूहरूले पैसा दिएर सेवा लिनुपर्ने बारे माथिल्लो तहमा गुनासो गरेको र त्यो थाहा पाएपछि उल्दै कार्यालय प्रमुख रहेका इन्स्पेक्टर रायले धम्की दिएको पीडितको भनाइ छ ।
“एसपीलाई कम्प्लेन गरेछौ, अब तिम्रो काम जिल्लाबाट लेखेर ल्याएपछि मात्रै गर्छु,” प्रहरी निरीक्षक रायको भनाइ उद्धृत गर्दै पीडितले भने।
ट्राफिकमा पनि घुसको जालो
शम्भुनाथ–७ का एक माइक्रो सञ्चालकले पनि ट्राफिक प्रहरीले महिनावारी असुली रहेको गुनासो गरेका छन् ।
“गाडी थप्यो कि रकम, फ्रिज, वासिङ मेसिन माग्छन्। महिनावारी नदिए त झन् फाइन तिर्नुपर्ने अवस्था आउँछ,” उनले भने, “पैसा नबुझाए अनावश्यक दु:ख पाइन्छ।”
सप्तरी प्रहरीमा सुधारको प्रश्न
स्थानीय यातायात व्यवसायी र सर्वसाधारणले सप्तरी प्रहरीमाथि रकम असुली र घुस लेनदेनको आरोप लगाएका छन् ।
जिल्ला प्रहरी प्रमुख एसपी गौतम केसीलाई बारम्बार उजुरी दिए पनि सुधार नदेखिएको उनीहरूको भनाइ छ।
अघिल्ला एसपी घुस काण्डमा मुछिएपछि उनलाई तानेर प्रहरी प्रधान कार्यालयले केसीलाई पठाएको भएपनि सप्तरी प्रहरीको कार्यशैलीमा सुधार नआएको सेवाग्राहीहरु गुनासो गर्दछ्न् ।
सुशासन कहिले
घुस नदिँदा दुर्घटनाको सनाखत समेत नगर्ने प्रहरी, अनि सुशासन कहिले हुन्छ? भन्ने प्रश्नमा जिल्ला प्रहरी कार्यालयका प्रमुख रहेका प्रहरी उपरीक्षक गौतम केसीले आफूले केही गर्न नसक्ने प्रतिक्रिया दिएका छन् ।
एसपी केसी कमजोर कार्यसम्पादनका कारण धादिङबाट तानिएका थिए तर, पछि सप्तरीका एसपी ढकेन्द्र खतिवडा समेत घुस काण्डमा ताँनिदा तत्कालीन नेतृत्वलाई प्रभावमा पारी उनले सप्तरीको जिम्मेवारी सम्हाल्ने मौका पाएका थिए ।








