काठमाडौं । प्रमुख तीन दलका शिर्ष नेताको बैठक सिंहदरवारमा सम्पन्न भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यालयमा तीन दलका शिर्ष नेताको बैठक भएको हो । समसमायिक राजनीतिक बिषयसहित मुख्यतयाः संक्रमणकालिन न्यायका बिषयमा सो छलफल केन्द्रित रहेको बैठकमा सहभागी माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले बताए ।
बैठकमा संक्रमणकालीन न्याय निरुपण (टीआरसी)का लागि नयाँ सिफारिस समिति गठन गर्ने समझदारी भएको बताइएको छ ।
यसअघि गठित समिति सिफारिस नै गर्न नसकी बिदा भएपछि अर्को ‘सर्च कमिटी’ बनाउन समझदारी बनेको हो ।
विगतमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा बनाएको सर्च कमिटी विघटन भएको थियो । उक्त सर्च कमिटीले आयोगका पदाधिकारी सिफारिस गर्न सकेको थिएन ।
बैठकमा नेकपा एमालेका तर्फवाट प्रधानमन्त्री ओली र उनका कानुनी सल्लाहकार अग्निप्रसाद खरेल थिए ।
कांग्रेसवाट सभापति शेरबहादुर देउवा र गृह मन्त्री रमेश लेखक तथा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रवाट अध्यक्ष प्रचण्ड, शक्ति बस्नेत र खिमलाल देवकोटा सहभागी रहेका थिए ।